एसिया प्यासिफिक समिटः नेकपाको लोकप्रियता ध्वस्त गर्ने रणनीत

काठमाडौँ, २० मंसिर । युनिभर्सल पिस फेडरेशन आयोजक रहेको नेपालको राजधानी काठमाडौंमा भएको (मंसिर १४–१७) सम्मेलनले दक्षिण एसियाको राजनैतिक ‘ककपिट’मा ठूलै भ्रम सिर्जना गरेको छ । एकथरिले यो सम्मेलनलाई नेपाललाई ‘इसाईकरण’ गर्न खोजेको अर्थमा लिएका छन् । तर, यो सम्मेलनको भित्री कुरा यतिमा मात्र सीमित छैन ।
दक्षिण एसियाको राजनीतिलाई पश्चिमा देशको स्वार्थमा हिँडाउने प्रयत्न पनि हो । यसका लागि पहिलो काम कट्टर हिन्दुहरुलाई उत्तेजित बनाउने प्रयास गरेको छ, दोस्रो सँगसँगै पश्चिमाहरुसँग सम्बन्धित विभिन्न धार्मिक संगठनलाई अन्तरधार्मिक सञ्जाल नामको सम्मेलनमा संगठित गरेको छ ।
पश्चिमा देशसँग नजिक रहेका हिन्दु, बौद्ध र मुस्लिम धर्मका कतिपय संगठन र वौद्धिकहरु यो फेडेरेसनको नजिकमा छन् । फेडेरेसन अन्तरधार्मिक नियात्रामा सीमित भएको र त्यसैअन्तर्गत शान्ति र विकास, द्वन्द्व समाधान, राम्रो प्रशासन, विवाह र परिवारलाई बलियो बनाउने र संरासंको विकास लक्ष्यलाई समर्थन गर्ने उसले सार्वजनिक गरेको संगठनको ‘मिसन’मा उल्लेख छ ।
दोस्रो मिसन पूरै राजनीतिमा रङ्गिएको छ । जसमा भनिएको छ, ‘आलोचनात्मक चुनौतिलाई सम्बोधन गर्दै छलफल, बहस, विश्वव्यापी गर्ने ।’ एउटा गैरसरकारी संस्थाले दोस्रो मिसनमार्फत् कसको राजनीतिलाई स्थापित गर्छ ? यो प्रश्नको उत्तरले फेडेरेसनको मिसन छर्लङ्ग हुन्छ ।
पहिलोे मिसनमै पनि एउटा गैरसरकारी संस्थाले शान्ति, द्वन्द्व, राम्रो प्रशासनजस्ता राजनैतिक शब्दावलीमा विश्वव्यापी बहस गर्ने अधिकारी यस्ता संगठनहरु हुनै सक्तैनन् । रह्यो कुरा विवाह र बलियो परिवार बनाउने । यो संगठनको परिवार सम्बन्धमा उल्लेखित नीति संगठनका संस्थापक मुनको धर्म दर्शन हेरे काफी हुन्छ । जहाँ महिलाहरुलाई दाससरह बनाउने उल्लेख छ । महिलालाई हेर्ने मुनको दर्शन यहाँ उल्लेख गर्न पनि सम्भव छैन ।
सांगठानिक रुपरेखा
यसरी दक्षिण एसियामा नेपालको सामरिक महत्वमा गडबडी पैदा गर्ने मिसन सम्मेलनले लिएको छ भन्ने विषयमा अब भ्रममा रहनु हुन्न । नेपालको द्वन्द्व व्यवस्थापनमा अनमिनले नभ्याएका थुप्रै कामहरु अब यस्तै संगठनहरुमार्फत् हुने गर्छन् । यसका लागि संयुक्त राष्ट्र संघको आडमा युनिभर्सल पिस फेडरेसनले झण्डै संरासंकै हाराहारीमा संगठन विस्तार गरेको छ । संरासंको डमी संगठनको रुपमा यो संगठन देखापरिसकेको छ ।
एसियाका राजनैतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप), शान्तिका लागि संसद् सदस्यहरुको अन्तर्राष्ट्रिय संस्था (आईएपीपी), ग्लोबल पिस काउन्सिल नामका अनेकन संगठनहरु यो फेडरेसनका मातहत छन् । यतिमात्र होइन, फेडरेसनले महिला, युवा, धार्मिकलगायतका ‘जनवर्गीय संगठन’हरु, शान्ति दूत र राजदूतजस्ता संगठन पनि बनाएको छ । यसमध्ये आइक्याप यस्तो संगठन हो जसले विश्व राजनीतिको अन्तर्राष्ट्रिय बहस गर्ने गर्छ ।
यो संगठनको दक्षिण एसियामा संस्थापक रहेका देशहरु बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान, नेपाल र श्रीलङ्का हुन् । यसको स्थायी समितिमा नेपालका तर्फबाट नेकपाका नेता झलनाथ खनाल, नेपाली कांग्रेसबाट सुजाता कोइराला र भारतबाट करणसिंह छन् । यसरी नै वर्तमान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपप्रधानमन्त्री तथा विदेश विभाग प्रमुख रहँदा २०११ मा स्थायी समिति सदस्य रहेको युनिभर्सलको अभिलेखमा छ । यता युनिभर्सलको ग्लोबल पिस काउन्सिलमा सन् २००८ मा चित्रलेखा यादव नियुक्त भएकी थिइन् ।
पदीय हैसियतअनुरुप कुर्सी राख्ने ठाउँ नमिल्दा कोकोहोलो मच्चाउने नेताहरु गैरसरकारी संस्थाको सदस्य हुन लालायित भएको कुरा चाहिँ अर्थपूर्ण छ । नेपालका स्वनामधन्य वकिल, पत्रकार र तथाकथित बुद्धिजीवीहरु पनि लाम लागेका छन् । पूर्व माओवादी केन्द्रका सभासद, वर्तमान राष्ट्रिय सभाका सदस्य अधिवक्ता रामनारायण विडारी पनि संगठनका हर्ताकर्ता हुन् ।
को हुन् मुन, के हो युनिभर्सल ?
युनिभर्सल पिस फेडरेसनका संस्थापक इसाइ धर्म गुरु मुनको पूरा नाम सन म्यूङ मुन हो । उनको जन्म उत्तर कोरियामा ६ जनवरी, १९२० मा भएको थियो । कोरियाली क्रान्तिको दौरानमा उनी साम्राज्यवादीहरुको सुराकी भएकाले कोरियाली श्रमिक पार्टीले श्रम शिविरमा राखेको थियो । तीन वर्ष कोरियाली कम्युनिष्ट पार्टीको कठोर श्रम शिविरमा रहेका मुनलाई
सन् १९५० मा अमेरिकी सेनाले उद्धार ग¥यो र त्यसपछि उनी अमेरिका गए । उनै मुन र उनकी श्रीमती हक जा हान मुनले सन् २००५ मा स्थापना गरेको संस्थाको नाम हो– युनिभर्सल पिस फेडरेसन । यी मुन जोडी सन्तान उत्पादन गर्ने विषयमा पनि प्रख्यात छन् । यिनका चौध सन्तानमध्ये दश सन्तान जीवित छन् । जतिसक्दो जनसङ्ख्या बढाउने यिनको नीति नै छ ।
महिलालाई सन्तान उत्पादन गर्ने मेसिनको रुपमा लिएको कुरा संस्थासँग सम्बन्धित सदस्यहरुका सन्तानको फेहरिस्त गणित उतार ग¥यो भने थाहा लाग्छ । मुन जोडीले सन्तान उत्पादन गर्ने उपक्रममा भारतीय नेता लालु यादव र विन लादेनलाई पनि उछिनेका छन् । नेपाल च्याप्टरका अध्यक्ष एकनाथ ढकालका पनि सातवटी छोरी छन् ।
आलोचनामाः एसिया प्यासेफिक समिट
नेपालमा भएको एसिया प्यासिफिक समिटको परिणाम आउन बाँकी नै छ । यो समिटको मिसनबमोजिम कट्टर हिन्दूवादी संगठनलाई सम्मेलनकै दौरानमा उत्तेजित बनाउने काम गरिसकिएको छ । कतिपयले इसाइ र हिन्दुहरुको बीचमा यो समिटले धर्म–द्वन्द्व निम्त्याउने आँकलन पनि गरिसकेका छन् । तर, यो समिटले यतिमात्र काम गरेको छैन ।
सम्मेलनको तामझाम हेर्ने हो भने यसले सार्क र बिम्स्टेकजस्ता क्षेत्रीय संगठनहरुलाई तहसनहस गर्ने अभिष्ट बोकेको छ ।
यसमा सम्मेलन कति हदसम्म सहयोगी हुन्छ भन्ने कुरा हेर्न बाँकी नै छ । तर यो सम्मेलनपछि नेपालको भू–राजनीतिमा नै असन्तुलन देखिने सङ्केत देखिएको छ । यस्तो सङ्केत पाएरै होला चिनियाँ सहभागीले सम्मेलनकै दौरान आफ्नो टेबल उठाएर हिंडे ।
सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय पात्रहरु पनि समसामयिक राजनीतिमा तिरष्कृत पात्रहरु हुन् । संयुक्त राष्ट्र संघले रोहिङ्ग्या मुसलमान प्रकरणलाई ‘आम नरसंहार’ ठानेको छ । बर्माकी आङ सान सुकी यो मामिलामा आलोचित छिन् ।
सत्तारुढ दलका कतिपय नेता, बुद्धिजीवी, सञ्चारकर्मीलगायत सर्वसाधारणले यो समिटको खुलेर आलोचना मात्र गरेका छैनन्, यसलाई खारेज गर्ने हदमा वकालत पनि गरेका छन् ।
नेकपाका नेता भीम रावलले तीखो टिप्पणी गर्दै लेखेका छन्, ‘कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रिय हित र कूटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु प¥यो ।’
नेकपाका अर्का नेता तथा चीनका लागि नेपालका पूर्व राजदूत टङ्क कार्कीले कुनै धार्मिक संस्थाको कार्यक्रममा सहभागी भएको प्रति असन्तुष्टि जनाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘धर्म निरपेक्षताको मर्म राज्य धर्मसँग लसपस नहोऊ भनेको होइन र रु यहाँ त त्यसको भाष्य जो मिल्छ, त्यसैसँग सल्के हुन्छजस्तो पो हुन थाल्यो ।’
यस्तै एकीकृत राप्रपा (राष्ट्रवादी) का नेता डा. प्रकाशचन्द्र लोहनीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘दक्षिण कोरियाको युनिफिकेसन चर्चको बजारीकरणका लागि नेपालका प्रधानमन्त्रीसहित १५ सय दम्पतिलाई चर्चका गुरुबाट आशीर्वाद दिने युनिफिकेसन चर्चको भेलामा नेपाल सरकार संलग्न हुनु दुर्भाग्य हो ।
नेपालका लागि यो भेलाको उद्देश्य युनिफिकेसन चर्चको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्ने र उक्त चर्चका इसाइ पादरीबाट नेपालका ठूलावडाका दम्पतिसहित आशीर्वाद लिने काममा सीमित रहेको देखिन्छ ।
युनिफिकेसन चर्चको बजारीकरणमा नेपाल सरकारले दुई करोड़ खर्च गरी हिस्सेदार बनेर हिन्दु र बुद्ध भूमि नेपालको सांस्कृतिक जग बलियो हुन्छ भन्नु अर्थहीन हो । एराप्रपा (राष्ट्रवादी) यो अर्थहीन अभियानमा सहभागी हुन चाहँदैन र यसै सन्दर्भमा यस कार्यक्रमको लागि बोलाइएको डिनर निम्ता बहिस्कार गर्दछु ।’ यसरी नै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरेर समिटको अन्तरङ्ग विषयको विरोध गरेका छन् ।
युनिभर्सलका नेपाली हर्ताकर्ता
युनिभर्सलको नेपाल च्याप्टरका संस्थापक हुन्– काठमाडौं विश्व विद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्मा । वर्तमान अध्यक्ष पूर्वमन्त्री एकनाथ ढकाल छन् । उपाध्यक्ष नारायण शर्मा गजुरेल, महासचिव विनोद डाँगी र कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ छन् । नेकपा नेता माधवकुमार नेपाल सम्मेलन आयोजक समितिका अध्यक्ष हुन् । नेपाल सरकार पहिले सहआयोजक रहेकोमा व्यापक आलोचना भएपछि ‘सहयोगी’को रुपमा रहेको थियो ।
नेपाल सरकारको ५४ लाख सहयोगसहित ब्यापक साधन स्रोतको उपयोग गरिएको छ । यो समिटको हौवा फिंजाउन उपत्यकामा सार्वजनिक यातायातको साधनलाई जोर र विजोरमा पालो दिएकोमा त्यसको पनि विरोध भएपछि सरकारले २४ घण्टामै फिर्ता लिन बाध्य भएको थियो ।
सामाजिक सञ्जाल र मिडियामा व्यापक आलोचना भएपछि सहभागीले ‘ब्लेसिङ’ लिन अस्वीकार गरेका थिए । पहिले ब्लेसिङ लिन खुट्टो उचालेर सहभागी हुन आएकाहरुले जनमत अर्कोतर्फ हेलिएपछि महत्वपूर्ण मानिएको यो कार्यक्रमलाई ‘ढुस’ बनाइदिए ।
मुनको आशीर्वचन
सम्मेलनमा फेडरेसनकी मुनले उपस्थित नेता तथा सहभागीहरुलाई अन्धविश्वासमा रुमल्लिन आशीर्वचन दिइन् । जिसस क्राइस्टको अवतार छोरीको रुपमा पृथ्वीमा आएको बताइरहँदा दर्शकदीर्घाबाट तालीको गडगडाहट आइरहेको हुन्थ्यो । उनले परम्परागत रुपमा रहेका इसाइ संगठन र अभियन्तालाई पनि गाली गर्न भ्याइन् । र, आफूमात्रै मुक्तिदाता भएको घोषणा गरिन् ।
मुनको भाषणको सार तथाकथित इसाइ ईश्वरीय साम्राज्यको विस्तार गर्दै इसाइ धार्मिक अन्धविश्वास फैलाउने कुत्सित भावनामा आधारित थियो । नेपालको विविधतापूर्ण संस्कृति, सभ्यता र राष्ट्रिय स्वाधीनतालाई खारेज गर्नुपर्ने सङ्केत थियो ।
भारतीय नेता जोलीले उनको तारिफमा दर्शकलाई ताली बजाउन व्हिप नै जारी गरे । सम्मेलन आयोजक समितिका अध्यक्ष माधवकुमार नेपालले मुक्तिदाता मुनलाई ‘माता’ भनेर सम्बोधन गरेका थिए । माधव नेपालको भाषण पूर्व माक्र्सवादी मान्यताबाट पूरै विचलित भएको इण्डो–पश्चिमाको डिजाइनमा आएको विश्लेषण चौतर्फी भएको छ । यो कार्यक्रमलाई, राजकीय, राष्ट्रिय मान्यता दिनु आफैमा रहस्यमय छ ।
फिजीले यो समिट गर्ने अनुमति नदिनु नेपालले सरकारी तवरमा समिटलाई सहयोग गर्नु आफैमा बिडम्बनापूर्ण हो भन्ने विषय आगामी दिनमा देखिनेछ । नेकपाको लोकप्रियतालाई धारासायी बनाउन योभन्दा ठूलो कारोबार अरु हुन नसक्ने विश्लेषकहरुको ठहर छ । समयबद्ध साप्ताहिकबाट