ताप्लेजुङमा वर्षासँगै हिमपात

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

प्रयास लिम्बू
ताप्लेजुङ, २ फागुन । ताप्लेजुङमा वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । बुधबार अपराह्नपछि एक्कासी मौसममा आएको परिवर्तनसँगै सामान्य वर्षा भएको र जिल्लाको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात हो ।
जिल्लाको हिमाली क्षेत्रमा हिमपात भएसँगै चिसो ह्वात्तै बढेको छ भने चिसोले हिमाली क्षेत्रका बासिन्दाहरु बढी प्रभावित बनेका छन् । हिमाली गाउँहरु ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, फले, याम्फुदिन, पापुङ, मामाङ्खे, तापेथोक, कालीखोला लगायतमा हिउँ परेको छ । बस्ती नजिक डाँडाकाँडामा हिउँ परेपछि चिसो बढेको स्थानीयले बताएका छन् ।
यस्तै तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा समेत हिउँ परेको छ । पाथीभरा क्षेत्रको फेदीबजारसम्म नै हिउँ परेको स्थानीय व्यवसायीले बताएका छन् । पाथीभरामा हिउँ परेपछि निक्कै चिसो बढेको फेदीबजारका स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले जानकारी दिए । हिमाली क्षेत्रमा बाक्लो हिमपात भएपछि सदरमुकाम फुङ्लिङ र सुकेटार बजारमा समेत चिसो बढेको छ ।
यता यसवर्षको हिउँद मौसम सकिन लाग्दा वर्षा भएपछि किसान भने हर्षित भएका छन् । सामान्य भए पनि वर्षा भई दिएकाले धुलो मारेको र तरकारी लगायत अन्य बालीलाई केही न केही राहत मिलेको किसानको भनाइ छ । हिजोआज मकैबाली लगाउने सिजनमा हालसम्म वर्षा नहुँदा चिन्तित बनेका किसान सामान्य वर्षा भई दिएकाले अब थप वर्षा हुनसक्नेमा आशा पलाएको फुङ्लिङ नगरपालिका ५ की किसान सावित्रा लिम्बूले बताए ।
उता सिदिङ्बा गाउँपालिका ४ साब्लाखुका किसान सञ्जय लिम्बूका अनुसार यसपाली लामो समयपछि वर्षा भएकाले स्थानीय किसानहरुमा खुशी छाएको छ । “बुधबार भएको वर्षाले धुलो नियन्त्रण र केही माटो भिजेको छ, यस्तै थप वर्षा भएमा माटो निक्कै भिज्ने र मकै लगायत अन्य खेती लगाउनलाई धेरै सहज हुने छ” लिम्बूले भने ।
यसैबीच दिउँसो अचानक वर्षा भई दिएकाले बाटो हिड्ने बटुवा तथा फुङ्लिङबजारमा जम्मा भएका मानिसहरु प्रभावित बनेका थिए । सदरमुकाम फुङ्लिङमा मङ्गबारदेखि पाथीभरा पर्यटन महोत्सव जारी रहेकाले मानिसको बाक्लो जमघट रहेको र वर्षाका कारण महोत्सवमा आयोजना गरिएका सांगीतिक लगायत कार्यक्रम समेत प्रभावित भएको थियो । ताप्लेजुङमा बुधबार दुई दशमलव ८ मिलिमिटर वर्षा भएको जिल्लास्थित पूर्वाञ्चल हावापानी फिल्ड कार्यालयका प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Admin
दमक, झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution