सुर्केनो फुकाउने र गाँठो चुँडाल्ने खुबी !

कृष्णमुरारी भण्डारी

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री बन्न पालो पर्खेर बसेका एमाले अध्यक्ष केपी ओलीलाई भेट्न दिनदिनै गाह्रो हुँदै छ । नहोस् पनि किन ? एक ज्यान– धेरै काम, उनैले भ्याउनु जो परेको छ ! हामी लठुवाहरूले एकदिन जति समय पाएका छौं, ओलीले पाएको पनि त्यत्ति नै हो । त्यसमाथि दीर्घ बिरामी उनलाई भेटेर के गर्ने ? के भन्ने ? निजी स्वार्थपूर्ति होलाजस्तो लाग्दैन किनभने सबैका निजी स्वार्थ पूरा गर्नतिर लागेका भए ख्याउटे ओली आज भीमकाय छविको राष्ट्रिय नेता किमार्थ बन्ने थिएनन् । जहाँसम्म राष्ट्रोत्थान गर्ने अक्कल, बुद्धि र विवेक अवगत गराउने कुरा छ, पलपलको महत्व भएका ओलीलाई अल्मल्याउनुको तुक छैन ।
देशलाई काँचुली फेराउन सक्ने मौलिक विचार कसैसँग छ भन्ने सुइँको मात्र पाए भने पनि ओलीले ‘हेल्पिङ ह्याण्ड’ मार्फत धुइँपत्ताल लगाएर त्यसअनुसारको काम फत्ते गरिसक्छन् । जहाँसुकै उम्रेको बिरुवा किन नहोस्, त्यो बिरुवा पाए उचित बगैंचामा लगेर सारी सक्छन् । होइन, बाह्रमासे सुझाव सुनाएर कसैले अल्मल्याउन थाल्यो भने त्यस्तालाई पन्छाउन उनीजत्तिको कठोर घामट सायदै यो मुलुकमा होला । त्यस्तो व्यक्ति मुलुकमा छँदै छैन पनि नभनौं, एउटा छ तर त्यो नै केपी ओली हो । अनि उसैको पछि लाग्नुको के अर्थ ?
अहिले ओलीले बन्द कोठामा को–कोसँग के कुरा गरे र केके शर्तनामामा हस्ताक्षर–ल्याप्चे लगाएर बुझाए भन्ने आरोपहरूको तानाबाना बुन्न खोजिँदै छ । जुन वार्ता तेस्रो व्यक्तिलाई सम्म थाहा छैन, हुँदो हो त एक्लाएक्लै वार्ता नै हुँदैनथ्यो ।
ओलीलाई बाँचुञ्जेल देवत्वकरण र दानवीकरण गर्नेहरूको मनोरथ पूरा हुन सक्दैन । किनभने तपसिलका कुराबाट ओली धेरै पहिल्यै माथि उठिसकेका राजनेता हुन् । सुर्केनो फुकाउन र गाँठो चँुडाल्न माहिर नेता हुन् ।
यसो नहुँदो हो त, जनताले ओलीको बोलीमाथि विश्वास गरेर मत दिने नै थिएनन् । न त चुनावमा उनको प्यानललाई राज्यका तीनै सत्ता (स्थानीय निकाय, प्रदेश र प्रतिनिधिसभा) मा जिताउने थिए ! न भुइँचालोले थंगथिलो भएको नेपाललाई ज्यानमारा नाकाबन्दी गरेर युद्धरत राज्यसँगको व्यवहार छिमेकी मुलुकमाथि गर्ने कुटिल, कपटी र काइते भारतीय नेतृत्व ओलीलाई फकाउन, फुल्याउन र तर्साउन लम्पसार परेर यसरी लाग्ने नै थियो ! ओली कति चतुर, ट्याक्टिकल र कूटनीतिक छन् ? निकट विगतबाटै प्रष्ट हुन्छ । जहाँसम्म भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई उनी बसेकै होटलमा गएर भेटे, रात्रिभोज दिएर आफू लम्पसार बने भन्ने आरोप दानवीकरण गर्न चाहनेहरूले लगाउन खोजीरहेका छन् यसैबाट तिनले कूटनीतिको कखरा पनि नबुझेको प्रष्ट हुन्छ ।
सुष्मा स्वराज कस्ती छन्, उनले नाकाबन्दीको बेला के गरिनन् र के बोलिनन् जगजाहेर छ । तर उनी जब यसपालि नेपाल आइन्, ओलीले उनका फरमाइस मुसुमुुसु हाँस्दै पूरा मात्र गरेनन्, सदाझैं भारतलाई आफ्नो छिमेकी मित्र र सहयात्री भनिरहे । ओलीको असहमति भनेकै नाकाबन्दीमा भारतको ज्यानमारा कदमको विरोध हो । ओली त्यतिबेला राष्ट्रिय स्वाभिमान जोगाउन र सार्वभौमसत्ताको रक्षा गर्न चट्टान जसरी प्रस्तुत भए । उनैले हो, उत्तरी छिमेकीसँग व्यापार, पारवहन सन्धि गरेर नेपाल सानो देश भए पनि आफ्नो स्वाधीनताका लागि कति सशक्त छ भन्ने सन्देश स्वप्नदर्शी प्रधानमन्त्री बनी भारतलाई राम्रैसँग दिएको । भारतले अत्यावश्यक औषधि किनेर ल्याउनसमेत नाकाबन्दी लगाएका बेला ओलीको कूटनीतिक पहलबाट नेपालको पहुँच उत्तरतिरबाट प्रशान्त महासागरसम्म पुग्न पायो । तर, कहिल्यै उत्तेजनामा आएर ओलीले भारतको अन्धविरोध गरेनन् । यसै विषयलाई लिएर ‘ओली डक्ट्रिन’ भन्दै साना र विकासशील राज्यहरूको पक्षबाट अन्तर्राष्ट्रिय अध्ययन शुरु भएको छ ।
ओलीलाई राम्रोसँग थाहा छ, छिमेकी फेर्न सकिँदैन । न त स्वाधीनतालाई नै तिलाञ्जली दिन सकिन्छ ! छिमेकीसँग आपसी सम्बन्ध सुमधुर राखेरै बस्नुपर्छ । नाकाबन्दी नेपालले लगाएको होइन, भारतले थोपरेको हो । आफैंले लगाएको नाकाबन्दी फिर्ता लिएर उसले नेपालप्रति उदार छाती प्रदर्शन ग¥यो ! ओलीको बहुचर्चित भनाइ नै छ, हामी चीन र भारत दुबैको उत्तिकै हित चिताउँछौं । सुदामा र कृष्णको मित्रता हेर्नुस् । दुबैको दिने क्षमतामा धेरै अन्तर थियो । सुदामाले कनिका दिए, कृष्णले घर, बंगला दिए, तर त्यसले मित्रतामा फरक प¥यो र ?
उनले भनेका छन्, म छिमेकीहरूलाई विनम्रतापूर्वक भन्न चाहन्छु, सके मद्दत गर्नुस्, नसके हाम्रा आन्तरिक मामिलामा हात हालेर स्थिति नगिजोली दिनुस् ! यसैका लागि ओलीले कठोर अडान लिए । उनी परराष्ट्रमन्त्री रहिसकेका व्यक्ति पनि हुन् । विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको एउटा भनाइ हुबहु लागू हुन्छ । उनले भनेका थिए, ‘हामी तिनै सोचबाट आफ्ना समस्या समाधान गर्न सक्दैनौं, जतिबेला तिनलाई हामीले सिर्जना गरेका थियौं ।’
यसको अर्थ के भने नाकाबन्दीको बेला ओली जसरी भारतसँग प्रस्तुत भएका थिए, अहिले पनि तिनैकुरा दोहो¥याउनुको तुक छैन । तथ्य, तर्क र औचित्यले सिर्जनशीलता खोज्छ । नेपालले नयाँ चरणमा फड्को मारिसक्यो । परिस्थिति बदलिइसक्यो । संविधान कार्यान्वयनमा आइसक्यो । अब ओली पनि हिजोको अवस्थामा छैनन् । हिजो उनले भुइँचालो र ज्यानमारा भारतीय नाकाबन्दीले थिलथिलो बनेका नेपालीमा स्थायित्व, समृद्धि, विश्वासको आशा जगाएका थिए । नेपाली जनतालाई पूरै विश्वासमा लिनसके । ओलीका विचार र कार्यक्रमलाई आमजनताले यसरी पत्याए कि राष्ट्रिय, प्रादेशिक र स्थानीय चुनावमा वाम उम्मेदवारहरूलाई जिताएर समृद्ध नेपाल बनाउने पूरै जिम्मेवारी सुम्पिएका छन् ।
आजका ओली, हिजोका ओली होइनन् । आजका ओलीले हिजो गर्छु भनेका काम कुरा यथार्थमा परिणत गरेर त्यसको स्वाद जनतालाई चखाउने हो । उतिबेला ओली असफल भएका भए देशको अस्तित्व रहने थिएन, अब आज असफल भए भने आफू त भड्खालामा पर्छन् नै उनीसँगै देशले प्राप्त गरेको ७० वर्षको उपलब्धि पनि मटियामेट हुनेछ । त्यसैले भेटघाट र बिजयोत्सव मनाउनमै समय खेर नफाल ओली ! तिम्रो परीक्षा र दिनगन्ती तिमी प्रधानमन्त्री भएपछिको पहिलो संबोधन र तिमीले सय दिनमा गर्ने कामबाट नै शुरु हुनेछ । तर, तिमी कति भाग्यमानी छौ भने, तिमीलाई तिम्रा युवराज र राजकुमारीका लागि अकुत कमाउनु छैन । न त आज कि भोलि भनिएको तिम्रो ज्यानका लागि सम्पत्ति थुपार्नु नै छ । तर, लामो समयदेखि देशी–विदेशी तत्वले गिजोलेको स्वाभिमानी देशको दह्रो आर्थिक आधारशिला बनाइदियौ भने त्यसैलाई टेकेर तिमीलगत्तै नातिपुस्ताले मुलुकलाई द्रुतगतिमा अगाडि बढाउनेछ, बीचको पेन्डुलम पुस्ता स्वतः दृश्यबाट बिलाउनेछ ।
हिजोसम्म अरूले गर्न दिएनन् भन्ने छुट थियो, आज त्यो छुट कत्ति पनि छैन । बिचौलिया, डन, तस्कर, माफिया, कमिसनखोर, भ्रष्टाचारी, जग्गा दलाल र चाकरीबाजबाट जोगिन सकेनौ भने, सावधान ! तिमी पनि नारायणहरि हुन धेरैबेर लाग्दैन । आजैदेखि माला, खादा र बाजामा नभुल किनभने तिमी देशको कार्यकारी प्रधानमन्त्री बनेपछि पत्रिका, टिभी, रेडियो, सामाजिक सञ्जालले तिमी र तिमीले गरेका काममाथि नै फोकस गर्नेछन् ! तिमी राजनेतामा स्थापित र अमर हुनेछौ ! जन-आस्था साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

Admin
दमक, झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution