हाँस्दाहाँस्दै मृत्यु अंगाल्ने भगत सिंह

राजेन्द्र स्थापित

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

भगत सिंह भारतका होनहार समाजवादी–क्रान्तिकारी । सिख सरदार किसनसिंह सिन्धु र विद्यावतीका छोरा । जन्म पञ्जाबको बांगा (हाल यो स्थान पाकिस्तानमा पर्छ) मा भएको हो । वामपन्थी र माक्र्सवादी हुँदै ‘हिन्दुस्तान सोसलिस्ट रिपब्लिकन एशोसिएसन’ को सदस्य । २१ वर्षको हुँदा उनी र बटुकेश्वर दत्तले केन्द्रीय संसद् भवनमा बम फ्याँक्ने जिम्मेवारी पाएअनुरुप सन् १९२९ अप्रिल ८ मा काम फत्ते गरे । त्यसबेला दुवै जनाले खाकी कमिज र कट्टु लगाएका थिए । बम फ्याँकेपछि भाग्ने मौका थियो तर भागेनन् । संसद् भवन बमको धुवाँले भरिएको एकछिनपछि प्रहरी पुग्यो । दुवै पक्राउ परे । लगत्तै उनीहरुले आफूसित भएको बेलायती शासनविरोधी पर्चा छरे । ‘इन्क्लाब जिन्दावाद ! साम्राज्यवाद मूर्दावाद !’ भन्दै नारा लगाए ।
सन् १९३१ मार्च २३ । लाहोर जेल । सधैंजसरी बन्दीहरु बिहानै ब्यारेकबाट निस्के । साधारणतया उनीहरुलाई दिनभरि बाहिरै राखिन्थ्यो र सूर्य अस्ताएपछि ब्यारेकमा फर्काइन्थ्यो । तर त्यो दिन वार्डन चरत सिंहले साँझ ४ बज्दानबज्दै सबैलाई भित्र जान आदेश दिन थाले । सबै वाल्ल परे । अरुबेला घाम अस्ताइसकेपछि र भित्र जाने आदेश पाइसकेपछि पनि सबै अल्मलिएर बाहिरै बसिराख्थे । तर त्यो दिन तुलनात्मक रुपमा चरत सिंह कडा देखिए । किन छिट्टै भित्र पठाइँदै छ, कारण त भनेनन् तर ‘माथिको आदेश’ भन्दै छडी हावामा हल्लाउन थाले ।
चरत सिंह कैदीहरुमाथि नरम व्यवहार गर्थे । आफ्नै छोराहरुलाई जत्तिकै हेरचाह गर्थे । बन्दी पनि उनलाई आदर गर्थे । त्यसैले कसैले उनीसित बहस गर्न चाहेनन् । अरुदिनभन्दा चार घण्टापहिला नै लुखुरलुखुर सबै ब्यारेकतर्फ फर्किए । मनमा कौतुहलता थियो । त्यसैले जेल–कोठाको दराली (डण्डीको झ्याल) बाट बाहिर नियाल्न थाले । उनीहरुले बरकत नाऊ (हजाम) एकपछि अर्को गरी कोठामा छिर्दै गरेको देखे । उनी कराउँदै हिँड्दै थिए, ‘भगत सिंह, राजगुरु र सुखदेवलाई फाँसी चढाइँदै छ ।’
सधैंभरि हंसमुख देखिने बरकत त्यो दिन गम्भीर थिए । फाँसीको समाचार फैलिएपछि सबै कैदी मौन भए । सबैजना आ–आफ्नो कोठाको बाहिरपट्टि बाटोतिर हेर्न थाले । सबैको आशा थियो, भगत सिंहलगायतका तीनै जनालाई फाँसी दिन सोही बाटोबाट लगिनेछ र उनीहरुको अन्तिम दर्शन गर्न पाइनेछ । फाँसी दिने समयभन्दा दुई घण्टाअगाडि वकिल मेहतालाई जेल छिर्ने अनुमति दिइयो । उनले भगत सिंहको अन्तिम इच्छा जान्न दरखास्त दिएका थिए, जसलाई जेल प्रशासनले मान्यो । मेहता पुग्दा भगत सिंह आफ्नो कोठामा ओहोरदोहोर गर्दै थिए । मेहतालाई देखेपछि हाँस्दै स्वागत गरे । अनि ‘दि रिभोल्युश्नरी लेनिन’ पुस्तक ल्याए÷नल्याएको सोधे । भगत सिंहले अघिल्लो भेटघाटमा मेहतालाई उक्त पुस्तक ल्याइदिन भनेका थिए । मेहताले पुस्तक दिएपछि उनी एकदम प्रशन्न भए र पढ्न थाले । मेहताको जिज्ञासामा उनले भने, ‘मसित अब धेरै समय छैन ।’
मेहताले सोधे, ‘तपाईं देशको नाउँमा कुनै सन्देश दिन चाहनुहुन्छ ?’
आफ्नो ध्यान पुस्तकबाट हटाएर भगत सिंहले भने, ‘मेरो दुईटा नारा सम्पूर्ण देशवासीमा पु¥याइदिनू । एक, इन्क्लाब जिन्दावाद ! दोस्रो, साम्राज्यवाद मूर्दावाद !’
मेहताले फेरि सोधे, ‘आज तपार्इंको अवस्था कस्तो छ ?’
‘सधैंजसरी नै खुशी छु ।’
‘के गर्ने इच्छा छ ?’
‘म फेरि पनि यसै मुलुकमा जन्मिन चाहन्छु ताकि यो देशको थप सेवा गर्न सकूँ ।’
भगत सिंहले थपे, ‘सरदार बल्लभभाइ पटेल र नेता सुभाषचन्द्र बोसलाई मेरो तर्फबाट धन्यवाद दिनू ! उनीहरुले मेरो मुद्दामा देखाएको अभिरुचिबाट म प्रसन्न छु ।’
मेहता गइसकेपछि जेल अधिकृतहरुले तीनै जनालाई सुनाए कि फाँसी भोलि बिहान ६ बजेको बदला आजै साँझ ७ बजे दिने निर्णय भएको छ । त्यसबेलासम्ममा भगत सिंहले पुस्तकका केही पाना मात्र पढ्न भ्याएका थिए । उनले भने, ‘मलाई एउटा अध्याय पढ्ने समय दिन सकिन्न र !’
अधिकृतहरुले जवाफ दिएनन् । बरु फाँसी दिइने स्थानतर्फ हिँड्न भने । एक–एक गरी तीनै जनाको तौल नापियो । तीनै जनाले नुहाए । लुगा फेरे । वार्डन चरत सिंहले कानमा भने, ‘वाहे गुरुको प्रार्थना गर ।’
भगत सिंह हाँसे । अनि भने, ‘मैले आफ्नो जीवनमा एकपटक पनि भगवानको नाउँ लिएको छैन । बरु दुःख र गरिबीको कारणले भगवानलाई सरापेको छु । अब मैले माफी मागें भने उसले सम्झने छ, यो डरछेरुवा रहेछ । अन्त्य नजिक आइपुगेकाले मसित क्षमा माग्दै छ ।’
तीनैजनाको हात बाँधिएको थियो । सिपाहीको पछिपछि तीनैजना एक–अर्कासँग जिस्किँदै फाँसी दिइने स्थानतर्फ बढदै थिए । एकाएक गीत गाउन थाले,
‘कभी वो दिन आएगा कि जब आजाद हम होंगे,
ये अपनी ही जमिं होगी, ये अपना आसमाँ होगा ।
शहीदों कि चिताओं पर लगेंगे हर बरस मेले,
वतन पर मिटने वालोंका बाकी यही नाम–ओ–निशां होगा ।’
घडीमा साढे ६ बज्यो । अलि टाढा थुप्रै मान्छेको जुत्ताको पदचाप सुनियो । त्यताबाट आवाज आयो, ‘सफरोशीकी तमन्ना अब हमारें दिलमें है ।’ त्यसपछि तीनै जनाले अर्को गीत गाए,
‘माइ रंग दे बसन्ती चोला,
मेरा रंग दे बसन्ती चोला ।’
यसपछि तीनै जनाले ‘इन्क्लाब जिन्दावाद !’, ‘हिन्दुस्तान आजाद हो !’ नारा लगाउन थाले । यो नारामा अन्य सबै कैदीले साथ दिए । तीनै जनालाई फाँसीको तख्तातर्फ लगियो । भगत सिंह बीचमा थिए । तीनै जनासित अन्तिम इच्छा के हो सोधियो । भगत सिंहले अन्तिमपटक दुवै साथीलाई अँगालो हाल्न चाहेको बताए । उनीहरुलाई त्यसो गर्न दिइयो । त्यसपछि दुवैले डोरीलाई म्वाइ खाए अनि आफैंले पासो लगाए । उनीहरुको हात–खुट्टा बाँधियो । फाँसी दिने व्यक्ति (जल्लाद) ले ठीक ७ बजेर ३३ मिनेटमा डोरी ताने । टेकिरहेको तख्ता यथास्थानबाट हटाइदिए । दुर्बल शरीर निकै बेरसम्म झुण्डिरह्यो । पछि तल झारियो । चिकित्सकले मृत घोषित गरे । वातावरणमा शून्यता छाइसकेको थियो । वार्डन चरत सिंह वार्डमा फर्के र क्वाँ–क्वाँ रुन थाले । ३० वर्ष लामो जागिरमा उनले कैयौंलाई फाँसी दिएको देखिसकेका थिए तर हाँस्दै फाँसीमा झुण्डिने यी तीन जनाबाहेक कोही देखेका थिएनन् ।
कसले सम्झने यो कुरा
रुसी नेता जोसेफ स्टालिनलाई सैतान, क्रूर, हत्यारा भन्नेको कमी छैन तर उनी जे–जस्ता भए पनि उनको देशभक्तिमा शंका गर्ने ठाउँ भेटिन्न । दोस्रो विश्वयुद्धमा दुई करोड ६६ लाख आफ्ना सैनिक र गैरसैनिकको आहुति दिएर भए पनि सोभियत संघलाई हिटलरको पञ्जामा पर्नबाट बचाएकै हुन् । बर्लिनमाथि नियन्त्रण जमाई विश्वयुद्धको अन्त्य पनि उनैले गराएका हुन् । स्मरणीय छ, सन् १९४५ मा युद्धको अन्त्य हुन्जेलसम्ममा ६ करोड अर्थात् तत्कालीन विश्व जनसंख्या २ अर्ब ३० करोडमध्ये तीन प्रतिशतको ज्यान गइसकेको थियो ।
स्टालिनका जेठा छोरा याकोभ जुगस्भिली रुसी लालसेनाको लेफ्टिनेन्ट पदमा कार्यरत थिए । जर्मनीले रुसमाथि हमला गरेको शुरुवाती चरणमै पक्राउ परे । जर्मन सैनिकले शाच्सेनाउजेन यातना शिविरमा पठायो । केही समयपश्चात् स्टालिनग्राडमा भएको लडाइँमा जर्मन जनरल फ्रेडरिख पाउलस पक्राउ परे । फिल्ड मार्शलमा बढुवा भएकै दिन उनी पक्राउ परेका थिए । हिटलरले फ्रेडरिखको रिहाइको बदलामा याकोभलाई छाड्ने प्रस्ताव पठाए तर स्टालिनले जवाफ फर्काउँदै भने, ‘एकजना लेफ्टिनेन्टलाई छुटाउन एउटा मार्शललाई रिहा गर्नेे साटासाटको व्यापार गर्दिनँ ।’
त्यतिञ्जेलसम्म सन् १९३१ को जनवरी ३१ मा लियो रौबल पक्राउ परिसकेका थिए । रौबल हिटलरकी आफ्नै दिदी एञ्जेलाका छोरा थिए । हिटलरले फेरि अर्को प्रस्ताव पठाए, ‘भतिजाको बदला याकोभको रिहाइ ।’ तर स्टालिनले दुश्मनको बदला आफ्नो छोराको रिहाइ चाहेनन् र प्रस्ताव अस्वीकार गरे । यसो गर्नुको एउटा कारण याकोभले पत्नी युलिया मेल्टजरको दबाबमा परेर जर्मनीसमक्ष आत्मसमर्पण गरेका हुन् भन्ने सोचाइ हो । यही विश्वासमा उनले बुहारी युलियालाई पक्रन लगाई सोधपुछसमेत गरे । अन्त्यमा पक्राउ परेको झन्डै दुई वर्षपछि डिप्रेसनको शिकार बनेका याकोभ सन् १९४३ को अप्रिल १४ का दिन यातनागृहबाट भाग्न खोजे । तारबार नाघेर भाग्ने कोसिस गर्दा जर्मन सैनिकले देखेपछि फर्कन आदेश दिए तर याकोभ मानेनन् । चिच्याउँदै कराए, ‘गोली हान ।’ सैनिकले प्रहार गरेको गोली टाउकोमै लाग्यो र ढले । मर्दा ३६ वर्षका थिए । नश्लले यहुदी र पेशाले नर्तक युलिया उनकी प्रथम श्रीमती थिइन् तर उनी युलियाका तेस्रा लोग्ने थिए । उनीहरुका एक छोरा र एक छोरी थिए । जनआस्था साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution