गाईमा नगरौं गलफत्ती

रमण पनेरु

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

नयाँ संविधानमा अप्रत्यासित तरिकाले धर्मनिरपेक्षता घुसाइएको विवाद जारी रहँदा ‘गार्ईको मासु खान पाउनुपर्ने’ झगडा शुरु भएको छ । कतिले गाईको मासु खान नदिएर राज्यले जनताको ‘भान्सामा नियन्त्रण’ गरेको जस्ता वाहियात तर्कसमेत गर्न भ्याएका छन् । पूर्वेली किराँत संस्कृतिअन्तर्गत च्याब्रुङ नाचमा बज्ने बाजामा गाईको छाला प्रयोग गरिन्छ ।

पश्चिमका भूल र सार्कीहरूले मरेका गाई लैजाने र मासु खाने गर्दछन् । त्यस्तै, इसाई र इस्लाम धर्मावलम्बीले गौमास चलाउने हुँदा उनीहरूलाई त्यसबाट वञ्चित गराउनु गलत हो भन्ने तर्क पनि उठेका छन् । बुझ्नुपर्ने विषय के हो भने किराँतीले बजाउने बाजाका लागि छाला चाहिएको हो, गाईकै छाला भन्ने छैन । भूल र सार्कीलाई छाला जिम्मा लाउनु उनीहरूको गरिबी अवस्थाको शोषण गर्नु हो । उनीहरूलाई सिनो खाने स्याल, गिद्ध बनाउन खोजिएको हो । मरेको गोरु तह लाउन खोजिएको हो । कथित उच्च जातिले गरेको यस्तो दुव्र्यवहारलाई आफ्नो संस्कार र संस्कृति मान्न जरुरी छैन ।

भोको पेटले केही नपाए मान्छेकै मासु पनि खाला । त्यसको अर्थ मान्छेको मासु खान पाउनुपर्छ भन्ने होइन । हुन त त्यसो गर्दा लास पोल्नुपर्ने झन्झट रहने थिएन र वातावरण पनि धुवाँका कारण प्रदूषित हुनबाट जोगिने थियो । इसाई र इस्लाम धर्मावलम्बीले बहुसंख्यक हिन्दू धर्मावलम्बीको मन राख्न गौमास त्याग्छन् भने त्यसलाई त्यति ठूलो विषय बनाउन जरुरी छैन । गाई छाडेर धेरै जीवको मासु बजारमा पाइएकै छ । गाई नै खानुपर्ने भनेर कुनै किताबमा लेखिएको पनि छैन । के भुल्नुहुन्न भने दुबईमा लाखौँ हिन्दूले काम गरे तापनि तिनले दसैँमा बिदा पाउँदैनन् । अमेरिकादेखि अस्ट्रेलियासम्म लाखौँ हिन्दूको बसोबास रहे पनि तिनीहरूको चाडलाई सम्मान गर्दै त्यहाँ राष्ट्रिय बिदा घोषणा गरिएको छैन ।

भान्सामा मनपरी छुट दिँदा मान्छेले अरू लोपोन्मुख जीवजन्तुको मासु पनि पकाउँछु भन्ला या लागुऔषधसमेत तयार पार्न खोज्ला, जाँड–रक्सी बनाउला अनि त्यसबेला पनि राज्यले जनताको स्वतन्त्रतामा हस्तक्षेप नगरी रहन सक्छ ? जाँडरक्सीका सन्दर्भमा राज्यबाट त्यस्तो विशेष कानुन आएको छैन तर विकसित देशमा प्रतिघरधुरीले व्यक्तिगत प्रयोजनका लागि यतिसम्म उत्पादन गर्न सक्ने प्रस्ट नियम हुन्छ । घरमै व्यावसायिक उत्पादन गरेर सरकारले पाउनुपर्ने कर छलीलाई रोक्न यसो गर्नुपरेको हो । त्यसैले व्यक्तिको भान्सामा सरकारको नियन्त्रण हुनु हुँदैन भन्ने तर्क वाहियात हो ।
भारतमा कतिपय मासु व्यवसायी हिन्दू हुँदाहुँदै पनि तिनीहरूले गाईको मासु निर्यात गरिरहेको कुरा धेरैले सामाजिक सञ्जालमा बाँडे । ती धेरै कम्पनीमध्ये अल कवीरको खोजी गर्दै जाँदा उसको शाखाले गौमास निर्यात गरेको प्रामाणिक सामग्री कहीँ पनि भेटिएन । अल कवीरले यदि गौमास निर्यात नै गरेको छ भने पनि त्यो गैरकानुनी हो । गैरकानुनी रूपमा गरिएका कुरालाई ‘अरूले गरेको छ, हामीले किन नपाउनु ?’ भन्दै लिँडेढिपी कस्न थालियो भने भोलि हत्या, बलात्कार, चोरी, तस्करी, लुटपाट, घुसखोरीलगायत गैरकानुनी क्रियाकलापलाई नियन्त्रण गर्ने आधार के रहला ?
गाईसँगको हाम्रो नाता फरक छ । ग्रामीण जीवन हेर्ने हो भने दूध अनि बाच्छा दिने हुनाले हरेक घरमा गाई पालिएको हुन्छ । साथै गाईको गोबरले आँगन लिप्नदेखि लिएर मल बनाई खेतीमा प्रयोगसमेत गर्न पाइने अनि अनावश्यक झारपात खाएर त्यसलाई पोषक दूधमा बदल्ने हुनाले पनि गाई परिवारको महत्वपूर्ण सदस्यजस्तै मानिन्छ । त्यही दूधबाट बनेको दही अनि नौनी र घिउले तेललाई प्रतिस्थापन गरेको हुन्छ । जाडोको बेला अहिले प्रयोग हुने हिउँदे मलमका ठाउँमा गाउँघरमा नौनी प्रयोग गरिन्छ । नौनी हातगोडामा मल्दा सुक्खा रहँदैन । त्यति धेरै उपयोगिताकै कारण कृषिमा आश्रित हाम्रो समाजमा गाई र गोरु पुज्ने संस्कार विकसित भएको हुनुपर्छ ।

परिवारको सदस्यसरह घरमा हुर्केको गाई मार्न पाउनुपर्छ भन्ने तर्क जायजजस्तो लाग्दैन । काट्नकै लागि भनेर पालिएका पाठाहरू र दसैँमा हप्ता दिनका लागि ल्याइएका खसीबोका काटिँदा त बालबालिकाहरू कोलाहल मच्चाउँछन् भने गाईको कुरा बेग्लै छ । फेरि हाम्रो समाजमा पोथीको मासु प्रायः खाइँदैन । बोका खाए पनि बाख्री काट्ने गरिँदैन । भैँसी खाने तर्कले गाईसँग हजारौँ वर्षको सम्बन्धलाई अनदेखा गर्न मिल्दैन ।
गाई खान पाउनुपर्छ भन्नेहरूले त्यसमा बन्देज लागेकै कारण गाईहरू छाडा हुन शुरु भएको र सहरी जीवनमा त्यसले समस्या आएको भन्ने गर्छन् । समस्या चरन क्षेत्र नै नभएको ठाउँमा गाई पाल्न दिनु हो । नगरपालिकाभित्र गाई पाल्न बन्देज लगाइदिऊँ त यो समस्या त्यसै सकिएर जान्छ । के गौहत्यामार्फत छाडा गाईको व्यवस्थापन गरिएजस्तै तरिका वृद्ध आमाबाको लागि पनि प्रयोग गर्ने ?
पश्चिम नेपालस्थित अजयमेरुकोट दरवारको अवशेषमा नरवली दिने ठाउँ अझै हेर्न सकिन्छ । अब के पूर्खाले नरवली दिएका थिए, हामीले पनि त्यहाँ मान्छेको बलि दिनुपर्छ भन्ने ? फेरी बहुविवाह, बालविवाह, कन्यादान, जातीय विभेद, घरेलु हिंसा, सती प्रथा, कमैया, कम्लरी र हलिया प्रथा, एकल महिलाको जीवनबाट रंग खोस्ने चलनलगायत हाम्रो संस्कारसँग जोडिएर रहेका कुसंस्कारहरूलाई पनि कानुन नबनाएर पुरानै अवस्थामै छोडिदिने ? मासु उत्पादनका लागि जति पानी र उर्जाको खपत हुन्छ त्योभन्दा धेरै थोरै उर्जा र पानीको खपतबाट वनस्पतिजन्य आहारा उत्पादन गर्न सकिन्छ । त्यसैले मांसाहार वातावरणमैत्री छैन ।

फेरि आहाराले हाम्रो सोच पनि निर्धारण गर्छ भन्ने कुरा बिर्सनु हुँदैन । सकेसम्म मांसाहार नै त्यागौँ नभए कमसेकम गाईमाथि जाइ नलागौँ । तर्ककै लागि तर्क त जति पनि गर्न सकिन्छ तर त्यो आवश्यक छैन । आजको जनआस्थामा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution