माटोका भाँडा बनाउने पेशा लोप हुँदै

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

पाल्पा, १४ चैत । कुमाल समुदायको पुख्र्यौली पेशाका रुपमा परिचित माटोका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ ।

पाल्पाको वगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदायमा कामदार र कच्चा पदार्थको अभावमा माटोका भाँडा बनाउने पेशा नै लोप हुँदै गएको हो ।

माटोका भाँडा बनाउने पेशाप्रति युवा पुस्ताको आकर्षण हुन नसक्नु तथा माटो, दाउरा, पराललगायतका कच्चा पदार्थको अभावमा कुमाल बस्तीमा माटोका भाँडा बनाउने पेशा नै संकटमा परेको हो । माटाका हुण्डी, घैँटा, पाला, भुट्को, आरीलगायतका माटाका वस्तु परम्परादेखि नै घरायसी प्रयोजनप्रति आकर्षित मानिन्छन् ।

कुमाल समुदायको १२० घरधुरी रहेको घोरबन्दामा अहिले भक्तबहादुर कुमाल र देवबहादुर कुमाल दुई घरपरिवारले पुख्र्यौली पेशाका माटोका भाँडा बनाउने काम अँगालेका छन् । अन्य सबै घरपरिवार माटोको भाँडा बनाउने कामबाट विस्थापित बनेका छन् ।

स्थानीय बासिन्दा भक्तबहादुर कुमालले भाँडा बनाउन माटो अभाव, जोखिमको पेशा र यो पेशाप्रति युवाको आकर्षण कम हुँदै गएपछि माटोका भाँडा केही वर्षदेखि देख्नसमेत नपाइने हुन थालेको बताए । बूढापाकाको मृत्यु भएपछि युवा पुस्ताले यो काम सिक्न नै नचाहेकोले पुख्र्यौली पेशा नै अहिले संकटमा परेको उनको दुःखेसो छ ।

स्थानीयवासी कुलबहादुर कुमालका अनुसार माटो, दाउराको अभाव र युवा पुस्ताको पेशाप्रति आकर्षित हुन नसक्दा यो पेशा नै लोप हुने अवस्था आएकोे हो । पहिले बस्तीमा माटाका भाँडा बनाउने चहलपहल हुने गरेपनि अहिले भाँडा बनाउन छाडेका छन् ।

पहिले आफूले पनि माटो बनाउने काम गरेका कुलबहादुर बुढेसकाल लागेपछि अहिले सो काम गर्न सक्दैनन् । पाल्पाको तानसेनस्थित प्रभाषको खेतबाट एक ट्र्याक्टर कालो माटोलाई दुई हजार रुपैँया तिर्नुपर्ने भक्तबहादुरको गुनासो छ ।

दशजना कामदार लगाएर माटो खन्नुपर्ने बाध्यता रहेको छ । कामदारलाई प्रतिव्यक्ति ५०० रुपैँया, ढुवानी खर्च गरी घरमा ल्याउँदा भण्डै १० हजार रुपैँया जति खर्च हुने उनले बताउए ।

जिल्लाको रैनादेवी छहरा, रिब्दीकोट, वगनासकाली, माथागढी गाउँपालिका, रामपुर र तानसेन नगरपालिकालगायतका स्थानमा कुमाल समुदायको बाक्लो बस्ती रहेको छ । करीब दश पन्ध वर्षअघि माटाका भाँडा बनाउने पेशाबाट नै कुमाल समुदाय नै जीविकोपार्जनको प्रमुख स्रोतका रुपमा माटाका भाँडा बनाउने र घर घरमा भाँडा बेच्नका लागि पुग्ने चलन रहेको थियो ।

पछिल्ला वर्ष माटाका भाँडाप्रति उपभोक्ताको रुचि घट्दो र उत्पादन गर्ने कुमाल समुदाय यो पेशालाई अप्ठ्यारो पेशाका रुपमा लिन थालेपछि संकटमा परेको हो । परम्परादेखि माटाका भाँडा प्रयोग गर्दै आएका समुदायमा अहिले पूजापाठमा अतिआवश्यक भाँडामात्र प्रयोग हुँदै आएको कान्छी कुमालले बताए ।

पछिल्लो जनगणना २०६८ सालका अनुसार पाल्पामा कुमाल समुदायका तीन हजार ६९५ गरी कूल जनसंख्या छ हजार ८०२ रहेको छ । कुमाल समुदायमा माटोका भाँडा बनाउने र माछा मारेर गुजारा चलाउने परम्परा रहे पनि अहिले त्यस्ता चलन भने विस्तारै हटेका छन् ।

स्थानीय सरकारले कुमाल समुदायका परम्परागत पेशा संरक्षणका लागि आधुनिक कार्यक्रम ल्याउन सकेको अवस्थामा फेरि त्यस्ता पेशा व्यवसाय संरक्षण हुने बूढापाकाको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution