झापाबाट सामुहिक आँखादान राष्ट्रिय अभियान

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

बिर्तामोड, ३ चैत । अप्टीमिष्ट नेपाल अन्तर्गत अप्टीमिष्ट क्लव अफ झापाको आयोजनामा सामुहिक आँखा दान राष्ट्रिय अभियान झापाबाट शुरु गरिने भएको छ ।
आँखा जीवन हो भन्ने भनाईलाई आत्मसाथ गर्दै एक जनाको आँखाको नानी दानले दुईजना दृष्टिविहीनले उज्यालो संसार देख्न सकिने भएकोले झापामा पहिलोपटक उक्त कार्यक्रम ल्याइएको अप्टीमिष्ट क्लव अफ झापाका अध्यक्ष खगेन्द्र ओलीले जानकारी दिए ।
आगामी चैत २४ गते झापाको बिर्तामोडमा अभियानको उद्घाटन गरिने बताउँदै अध्यक्ष ओलीले उक्त अभियानलाई सार्थक बनाउन सबैलाई आग्रह समेत गरे । मृत शरीरको आँखामात्र कसैका लागि उपयोगी हुनसक्ने भएको र आँखा दान जस्तो सार्थक दान अरु केही हुन नसक्ने भएको बताउँदै अध्यक्ष ओलीले मरणोपरान्त दान गरिएको उक्त आँखा दृष्टिविहीनलाई प्रत्यारोपण गरिने जानकारी दिए ।
मेची आँखा अस्पताल अनारमनीको प्राविधिक सहयोगमा हुने उक्त कार्यक्रम झापामै पहिलोपटक गरिन लागिएको उनले बताए । आगामी चैत २४ गते बिर्तामोडमा औपचारिक कार्यक्रममार्फत शुरु गरिने उक्त अभियान देशैभर सञ्चालन गरिने उनले बताए ।
मानवको शरीरको महत्वपूर्ण अंगमध्ये आँखा पनि एक भएकोले उज्यालो संसार नदेख्नेहरुलाई उज्यालो संसार देखाउने आफूहरुको कर्तव्य भएकोले उक्त कार्यक्रमको आयोजना गरिएको बताउँदै अध्यक्ष ओलीले आँखा दान गर्नुभन्दा अगाडि आँखा इच्छापत्र फारम भर्नुपर्ने र जसका लागि परिवारको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था भएको समेत जानकारी दिए । उनले अभियानलाई सफल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको जानकारी दिए ।
संस्थाका उपाध्यक्ष निरज ढुंगेलको संयोजकत्वमा आर्थिक उपसमिति, मुकुन्द दाहालको संयोजकत्वमा आँखा दानको इच्छापत्र संकलन उपसमिति राम काफ्लेको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, दिपक मिश्रको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको जानकारी दिए ।
संस्थाले गरीब तथा विपन्न समुदायका निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गराउने बताउँदै संस्थाका अध्यक्ष ओलीले प्रत्येक वर्ष १२ जनाको संस्थाको सम्पूर्ण खर्चमा निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिने जानकारी दिए ।
एक वर्षअघि काठमाडौंमा स्थापना भएको अप्टिमिस्ट नेपाल अन्तर्गत गत माघ १८ गते अप्टिमिस्ट क्लव अफ झापा गठन गरिएको बताउँदै अध्यक्ष ओलीले रक्तदान गरेर संस्थाको औपचारिक शुभारम्भ गरिएको जानकारी दिए ।
खगेन्द्र ओलीको अध्यक्षतामा गठन भएको संस्थाको उपाध्यक्ष निरल ढुंगेल, सचिव राम काफ्ले, सहसचिव राजन नेपाल, कोषाध्यक्ष युवराज मैनाली रहेका छन् । त्यस्तै सदस्यहरुमा माधव लम्साल, गोविन्द सेलवाल, हेमराज श्रेष्ठ, सागर सेलवाल रहेका छन् ।
संस्थाको मुख्य कार्यालय अमेरिकाको सेन्ट लुइसमा रहेको र नेपालमा काठमाडौं, झापा, विराटनगर, लुम्बिनी र पोखरामा कार्यालय रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution