ताप्लेजुङमा एसईई परीक्षाको तयारी पूरा

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

ताप्लेजुङ, ४ चैत । ताप्लेजुङमा चैत ८ गते बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी करिव पूरा भएको छ । जिल्ला शिक्षा कार्यालय ताप्लेजुङका अनुसार परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोकिएसँगै तयारी पूरा भएको हो ।
माध्यमिक शिक्षा परीक्षा सञ्चालनका लागि विभिन्न १७ वटा केन्द्र निर्धारण गरिएको र सम्बन्धित केन्द्रमा परीक्षा सञ्चालन गर्नका लागि एक महिलासहित १७ जना केन्द्राध्यक्ष तोकिएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हेम पालुङ्वाले जानकारी दिए । पालुङ्वाका अनुसार जिल्लास्थित परीक्षा समन्वय समितिको बैठकले निर्णय गरेबमोजिम सदरमुकाम फुङ्लिङको भानुजन माध्यमिक विद्यालय केन्द्रमा किशोर राईलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।
यस्तै सिँवा माध्यमिक विद्यालय लिङ्खिम केन्द्रमा ओमनाथ गौतम, मोती मावि खोक्लिङ केन्द्रमा लक्ष्मीप्रसाद खतिवडा, त्रिभुवन मावि थुकिमामा प्रेमलाल भट्टराई, मैवाखोला मावि ढुङ्गेसाँघुमा खिलानाथ फुँयल, दुर्गा मावि फुलबारीमा निरञ्जन यादवलाई केन्द्राध्यक्ष तोकिएको छ । युवावर्ष मावि कैँजलेमा भीम पन्दाक, सिद्धकाली मावि दोखुमा शान्तिराम नेपाल, मेवाराजा निम्न माविमा गोपाल थापा, थेचम्बु मावि थेचम्बुमा देवीप्रसाद मैनालीलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।
त्यस्तै तेल्लोक मावि तेल्लोकमा कमलपति भण्डारी, गणेश मावि खेबाङमा दीपेन्द्रकुमार बस्नेत, सिनाम मावि सिनाम परीक्षा केन्द्रमा महेन्द्रप्रकाश गौतम, भञ्ज्याङ मावि लिम्बुदिनमा मेघा थेबे, जनता मावि हाङ्देवामा शरदराज निरौला र बालसुवोधिनी संस्कृत मावि मेदिबुङमा रामचन्द्र दाहाल केन्द्राध्यक्ष तोकिएको छ । बालसुवाधिनी संस्कृत मावि केन्द्रमा भने यसवर्ष जिल्लाभरका एक्जाम्टेडतर्फका मात्र परीक्षार्थीलाई परीक्षा लेखाउने तयारी गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
जिल्ला शिक्षा कार्यालयका अनुसार अघिल्ला वर्षहरुमा सबै केन्द्रमा एक्जामटेडका परीक्षा सहभागी रहँदै आएका थिए । यस्तै यो वर्ष परीक्षा केन्द्र पनि एउटा थप गरेर १७ वटा निर्धारण गरिएको शिक्षा कार्यालयले जानकारी दिएको छ । जिशिकाका अनुसार सिद्धकाली मावि केन्द्र दोखु यसपटक थप गरिएको हो ।
यता केन्द्राध्यक्षहरुलाई आइतबार परीक्षा सञ्चालनबारे एकदिने अनुशिक्षण प्रदान गरिएको जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले जानकारी दिए । अनुशिक्षणसँगै सम्बन्धित केन्द्रका केन्द्राध्यक्षहरुलाई प्रश्नपत्र लगायत परीक्षाका सामग्री दिएर पठाउने तयारी गरिएको जिशिअ निरौलाले बताए । उनले विगत वर्षमा झैं यसवर्ष पनि परीक्षालाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गरिने बताए । शिक्षा कार्यालयका अनुसार सबै परीक्षा केन्द्रमा एक÷एक जना सहायक केन्द्राध्यक्ष समेत खटाइने छ ।
यसवर्ष ताप्लेजुङका खुल्ला शिक्षा र प्राविधिक धार समेत गरेर ६३ वटा विद्यालयका नियमिततर्फ दुई हजार ८३ जना र एकजाम्टेडका ३१८ गरी दुई हजार ४०१ जना विद्यार्थी परीक्षामा सामेल हुने भएका छन् । नियमितर्फका परीक्षार्थी मध्ये ५२ जना विद्यार्थी प्राविधिक धारका रहेका जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।
यस्तै यो वर्ष १५१ जनाले परीक्षा लेख्न नपाउने भएका छन् । परीक्षा लेख्नका लागि फाराम भरे पनि उक्त संख्या बराबर विद्यार्थीको ७५ प्रतिशत हाजिरी नपुगेको लगायत कारणबाट परीक्षामा सहभागी हुन नपाउने भएका शाखा अधिकृत पालुङ्वाले बताए ।

तपाईको प्रतिक्रिया

Admin
दमक, झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution