निर्यात व्यापारसम्बन्धी चारदिने तालिम सम्पन्न

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

विर्तामोड, ८ चैत । वाणिज्य मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजनामा निर्यातकर्ता व्यवसायीहरुका लागि सञ्चालित ‘एक्स्पोर्ट प्रोस्युडर मार्केट रिसर्च एण्ड एनालाइसिस’ तालिम सम्पन्न भएको छ ।
झापा उद्योग वाणिज्य संघको संयोजनमा विर्तामोडमा आइतबार शुरु भएको तालिम बुधबार सकिएको हो । तालिममा झापा तथा इलामका २५ जान व्यवसायी सहभागी रहेको केन्द्रका उपनिर्देशक सिद्धिचरण दाहालले जानकारी दिए ।
झापा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष बुद्धिप्रसाद घिमिरेको अध्यक्षतामा आयोजित तालिम समापन समारोहमा प्रमुख अतिथि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणाले सहभागीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरे । उनले सिकेको सीपलाई उपयोग गर्न र निर्यात व्यापार बढाउन सहभागीहरुलाई आग्रह गरे ।
अन्तर्राष्ट्रिय बजारमा कुन उत्पादनको माग छ भन्ने कुरा प्रविधि प्रयोग गरी आफ्नै ठाउँबाट जानकारी लिई आफ्नो उत्पादनको बजार विस्तार गर्न व्यवसायीलाई सक्षम बनाउने र त्यसबाट निर्यात व्यापार बृद्धि गर्ने उद्देश्यले चारदिने सो तालिम आयोजना गरिएको केन्द्रका निर्देशक एवम् प्रशिक्षक सुरेन्द्रनाथ गंगोलले जानकारी दिए । उनीहरुलाई निर्यात व्यापारका नीतिगत प्रक्रिया जानकारी गराइनुका साथै इन्टरनेटको माध्यमबाट अन्तर्रा्ष्ट्रिय बजार खोजी गर्ने र आफ्नो उत्पादनका बारे इन्टरनेटकै माध्यमबाट बजारीकरण गर्न सिकाइएको प्रशिक्षक गंगोेलको भनाइ छ ।
तालिम निकै उपयोगी रहेको र आफूहरुले धेरै कुरा सिक्न पाएको भन्दै प्रशिक्षार्थी मनिषा विमलीले इन्टरनेट प्रयोग गरेर अब अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको बजारीकरण र निर्यात गर्न सकिने बताइन् ।
संघका महासचिव पंकज शर्माले सञ्चालन गरेको समापन कार्यक्रममा झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् नेपाल अलैंची व्यवसायी महासंघका संस्थापक अध्यक्ष राजेन्द्रकुमार घिमिरे, प्रदेश नं १ उद्योग वाणिज्य संघका सदस्य एवम् सुपारी प्रशोधन तथा व्यवसायी संघका अध्यक्ष देवीप्रसाद खतिवडा, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, झापा उद्योग वाणिज्य संघ महिला उद्यमी समितिकी संयोजक सुनिता ओली, तालिममा सहभागी महिला उद्यमी महासंघकी देविका बुढाथोकीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै सिकेको ज्ञान उपयोग गर्न र नेपालको वैदेशिक व्यापार घाटा घटाउन सहयोग पुरयाउन तालिममा सहभागीहरुलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution