व्यवसायीलाई निर्यात व्यापारसम्बन्धी तालिम

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

विर्तामोड, ४ चैत । नेपालले वर्षेनि उच्च दरमा वैदेशिक व्यापार घाटा व्यहोर्दै आएको सन्दर्भमा निर्यातलाई बढावा दिन व्यवसायीहरुलाई निर्यात व्यापारका प्रक्रिया र अन्तर्राष्ट्रिय बजार विश्लेषणसम्बन्धी तालिम प्रदान गरिएको छ ।
निर्यातजन्य नेपाली वस्तुको उत्पादन, प्रशोधन, प्रवद्र्धन एवम् बजारीकरणका लागि विविध क्रियाकलाप गर्दै आएको सरकारी निकाय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजना तथा झापा उद्योग वाणिज्य संघको व्यवस्थापनमा ‘एक्सपर्ट प्रोसुडर मार्केट रिसर्च एण्ड एनालाइसीस’ विषयक तालिम विर्तामोडमा आइतबार शुरु गरिएको हो ।


अन्तर्राष्ट्रिय बजारमा कुन उत्पादनको माग छ भन्ने कुरा प्रविधि प्रयोग गरी आफ्नै ठाउँबाट जानकारी लिई आफ्नो उत्पादनको बजार विस्तार गर्न व्यवसायीलाई सक्षम बनाउने र त्यसबाट निर्यात व्यापार बृद्धि गर्ने उद्देश्यले चारदिने सो तालिम आयोजना गरिएको केन्द्रका उपनिर्देशक सिद्धिचरण दाहालले जानकारी दिए । तालिममा इन्टरनेट, कम्प्यूटर प्रयोग गर्न सक्नेखालका २३ जना व्यवसायी सहभागी रहेका छन् । उनीहरुलाई निर्यात व्यापारका नीतिगत प्रक्रिया जानकारी गराइनुका साथै इन्टरनेटको माध्यमबाट अन्तर्राष्ट्रिय बजार खोजी गर्ने र आफ्नो उत्पादनका बारे इन्टरनेटकै माध्यमबाट बजारीकरण गर्न सिकाइने प्रमुख प्रशिक्षक एवम् वयापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक सुरेन्द्रनाथ गोंगलले जानकारी दिए ।


झापा उद्योग वाणिज्य संघका महासचिव पंकज शर्माले सञ्चालन गरेको तालिम उद्घाटन कार्यक्रमका अध्यक्ष झापा उद्योग वाणिज्य संघका उपाध्यक्ष बुद्धिप्रसाद घिमिरेले नेपालको व्रदेशिक व्यापार घाटाको अवस्था भयावह रहेको भन्दै कतिपय अवस्थामा प्रविधिमा पहूँच पुग्न नसक्दा नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुग्न नसकिइरहेको परिप्रेक्ष्यमा केन्द्रले व्यवसायीका लागि अत्यन्त उपयोगी तालिम दिन लागेको बताए । उनले सहभागीहरुलाई पूरै समय तालिममा सहभागी भई त्यसबाट प्राप्त ज्ञान अन्य व्यवसायीहरुलाई पनि प्रवाहित गर्दै निर्यात व्यापार बृद्धिमा सहयोग पुर्याउन आग्रह गरे । उनले नेपालको निर्यात व्यापार घाटा ७ खर्ब नाघिसकेको भन्दै त्यसलाई घटाउन नसके देश गम्भीर आर्थिक संकटमा फँस्ने सम्भावना पनि औंल्याए ।
केन्द्रका उपनिर्देशक दाहालले निकै महत्वपूर्ण मानिएको यसप्रकारको तालिम यसअघि काठमाडौं, नेपालगञ्ज, विगराटनगर, वीरगञ्ज, भैरहवा, धनकुटा र इलाममा दिइएको र झापापछि कञ्चनपुरका व्यवसयीलाई यो तालिम दिइने कार्यक्रम रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Admin
दमक, झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution