चिराइतोको मूल्य ओरालो लागेपछि कृषक चिन्तित

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

ताप्लेजुङ, २८ वैशाख । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ का दावारेन्जी शेर्पाले गत वर्ष प्रतिमन १६ हजारले ४० मन चिराइतो खरिद गरे। शेर्पाले किनेलगत्तै भाउ ओरालो लाग्यो। भाउ बढ्ने आशमा एक वर्ष त्यत्तिकै राखे। यस वर्षको सिजन अन्त्य हुन लाग्दासमेत नबढेपछि तीन दिनअघि प्रतिमन आठ हजारले बेच्न बाध्य भएको शेर्पाले बताए। ‘मूल्य बढ्ला भनेर एक वर्षसम्म राखियो’, शेर्पा निराश हुँदै भन्छन्, ‘झन् घट्ने छाँट देखेपछि घाटा सहेरै बेचेको हुँ।’ कृषक समेत रहेका उनले ४५ रोपनीमा चिराइतो लगाएका छन्। दुई वर्ष अगाडि मूल्य बढेर प्रतिमन ३५ हजार पुगेपछि हौसिएर चिराइतो लगाएका शेर्पा निराश छन्।

सिरिजंगा गाउँपालिका–८ याफुदिनका कृषक रामबहादुर तामाङले पनि दुई वर्ष बिटा बनाएर घरनजिकैको गुवालीमै थुपारे। उनले पनि आठ हजारमै बेच्नुप¥यो। फक्ताङलुङ गाउपालिका–६ लेलेप लावाजिनका जीतबहादुर राई पनि चिराइतोले भाउ नपाउँदा चिन्तित छन्। अलैंची उत्पादन नहुने यो क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत नै चिराइतो हो। पूर्वको याम्फुदिन र उत्तरको लावाजिनका मात्रै नभएर जिल्लाभरिका कृषक चिराइतोको मूल्य घटेपछि निराश छन्। आठ हजारमा बेच्दा खर्च समेत नधान्ने तामाङको भनाइ छ।

‘यती मूल्यमा बिक्री गर्नु शून्य आय हुनु हो’, तामाङले भने। व्यापारीले सडकमा पु¥याउँदा मात्रै त्यति मूल्यमा किन्ने कृषकहरू बताउँछन्। याम्फुदिनमा रामबहादुरले यातायात चल्ने आम्बेगुदिनको हप्पुखोला एक क्विन्टलको भाडामात्रै पाँच हजार रुपैयाँ बुझाउनु पर्छ, त्योपनि खच्चडले बोक्न मानिदिए मात्रै। रामबहादुर भन्छन्, ‘मान्छेलाई त त्योभन्दा बढी दिनुपर्छ। गोडमेल गरेको, उखेलेको, बारीबाट घरसम्म ल्याएको एक पैसा हात लाग्दैन।’ मूल्यमा गिरावट आएपछि व्यवसाय धान्नै गाह्रो परेको व्यापारीहरू बताउँछन्।

‘सरकारलाई प्रतिकिलो १५ रुपैयाँ राजस्व तिर्नुपर्छ, ढुवानीमा ठूलै खर्च हुन्छ, मूल्य पनि छैन’, व्यापारी सविन बानियाँले भने, ‘अब कारोबार गर्ने कि नगर्ने दोधारमा परेको छु।’ सदरमुकाम फुङलिङमा आठ हजारले किने पनि यातायातको असुविधाका कारण तिब्बत पुग्दा खर्च दोब्बरले बढ्ने बानियाँले बताए। फुङलिङबाट तापेथोकसम्म मात्रै सवारी पुग्छन्। त्यहाँबाट ओलाङचुङलुङगोलासम्म मानिस र खच्चरलाई बोकाएर लैजाँदा प्रतिकिलो एक सय ८० लाग्ने उनको भनाइ छ। ढुवानी केही वर्ष पहिलेसम्म पूर्वका जिल्लामा उत्पादित चिराइतोको बजार भारत थियो। तर पछिल्लो तीन वर्षयता तिब्बतमा बढी मूल्य पाउने भए पनि व्यापारीले ताप्लेजुङको ओलाङचुङगोला नाकाबाट तिब्बततर्फ निकासी गर्न थालेका हुन्। ताप्लेजुङसहित इलाम, पाँचथर, तेह्रथुम र संखुवासभाको समेत चिराइतो ओलाङचुङगोलाबाट तिब्बत निर्यात हुने बानियाँले बताए।

अघिल्ला वर्षमा मूल्य उच्च हुँदा हेलिकोप्टरबाट समेत तिब्बत लगिएको थियो। व्यापारीका अनुसार चार वर्षअघि एक लाख प्रतिक्विन्टल रहेको मूल्य तीन वर्षअघि ३० हजार थियो। गत वर्ष आठ हजारमा झरेको मूल्य अहिले आठ हजारमा पुगेको हो। वन कार्यालयको तथ्यांकअनुसार ताप्लेजुङमा एक हजार, पाँचथर र इलामम चार हजार टनको हाराहारिमा उत्पादन हुने गरेको छ।

वन कार्यालयले चिराइतो खेती गर्ने कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेको जनाएको छ। यस वर्ष आठ जना कृषकलाई अनुदान सहयोग गरेको सहायक वन अधिकृत जिवनकुमार यादवले जानकारी दिए। चिराइतोले राम्रो मूल्य पाउन थालेपछि पूर्वी पहाडी जिल्लामा गाउँलेबीच चिराइतो खेती गर्ने लहर चल्न थालेको छ। पहिले आलु, मकै देखिने बारीका पाखामा अहिले चिराइतो लगाएको देख्न सकिन्छ।

समुद्री सतहबाट करिब १२ सयदेखि तीन हजार मिटर उचाइसम्म पाइने चिराइतो एक किसिमको जडीबुटी हो। औषधिका रूपमा प्रयोग गरिने यो वनस्पति शक्तिवद्र्धक टनिक र बियरमा तीतोपन ल्याउनसमेत प्रयोग गरिन्छ। ‘स्वेरसिया चिराता’ वैज्ञानिक नामको यो जडीबुटी कीटाणुनासक मानिन्छ। चिराइतो खेती यसको बीउबाट गरिन्छ।

यसलाई समशितोष्ण जलवायु र आद्रतापूर्ण क्षेत्र उपयुक्त हुन्छ। जमिनमा पानीको राम्रो निकास हुनुपर्छ। कात्तिक, मंसिरतिर बीउ छरिन्छ। बीउ सानो हुने भएकाले पहिले नर्सरीमा बेर्ना बनाएर सार्दा अझ राम्रो हुन्छ। असार, साउनदेखि असोजसम्म यसको फूल फुल्छ। फूल परिपक्व भएपछि चैत महिनाअघि नै बोट उलेल्नुपर्छ। एक हजार पाँच सयभन्दा माथिको उचाइमा सप्रिने चिराइतोबाट आम्दानी लिन रोपिएको अढाई वर्ष पर्खनुपर्छ। चिराइतो जंगली जनावरले नखाने र रोगकीरा समेत नलाग्ने बिरुवा हो। –आजको अन्नपुर्ण पोस्ट् दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution