पाँचथर उद्योग वाणिज्य संघमा पदस्थापन

Image

Spread the love
  •  
  •  
  •  
  •  
  •  

पाँचथर, फिदिम, जेठ १० । पाँचथरका उद्योग वाणिज्य संघमा नवनिर्वाचित कार्यसमितिले बिहीबारदेखि पदभार ग्रहण गरेको छ । सोही दिन संघको नवनिर्मित बहुउद्देश्यीय भवनको पनि उद्घाटन गरियो ।

संघको सभाहलमा आयोजित पदस्थापन समारोहका बीच वर्तमान अध्यक्ष मित्रप्रसाद काफ्लेले नवनिर्वाचित अध्यक्ष दीपक नेपाललाई पदभार हस्तान्तरण गरे । निर्वाचन समितिले सञ्चालन गरेको कार्यक्रमका बीच नवनिर्वाचित अध्यक्षलगायत कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका थिए । समारोहको अध्यक्षता संघका वर्तमान अध्यक्ष मित्रप्रसाद काफ्लले गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा पदस्थापन समारोह सम्पन्न भएको थियो । यसअघि ढकालले भवन उद्घाटन गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरेको थियो ।

समारोहमा प्रमुख अतिथि ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, पाँचथर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुवराज थापालगायतले नवनिर्वाचित कार्यसमतिलाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए भने नवनिर्वाचित अध्यक्ष नेपालले देशको संरचनागत परिवर्तित समय–सन्दर्भमा संघको भूमिका अझ बढेको भन्दै आफ्नो नेतृत्वको कार्यसमितिले सदैव व्यवसायीहरुको सर्वांगीण हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सोमबार भएको संघको निर्वाचनबाट अध्यक्ष पदमा लोकतान्त्रिक प्यानलका नेपाल ८५० प्राप्त गरी विजयी भएका थिए । अघिल्लोपटक अध्यक्ष पदमै मित्रप्रसाद काफ्लेसँग पराजित बनेका नेपालले यसपटक प्रतिस्पर्धी तुलसीदास श्रेष्ठलाई १३३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । श्रेष्ठले ७१७ मत प्राप्त गरे । नेपाल नेतृत्वको प्यानललाई नेपाली कांग्रेसलगायत साना दलको समर्थन थियो भने श्रेष्ठ नेतृत्वको प्यानललाई नेपाल कम्युनिष्ट पार्टी, राप्रपा र संघीय समाजवादी फोरमको समर्थन थियो ।

यसपटक मिश्रित परिणाम आएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन अधिकृत छवि वाँस्कोटाका अनुसार नेपालको प्यानलबाट अध्यक्ष, दुई उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित ६ सदस्य जियी भएका छन् भने श्रेष्ठको प्यानलबाट दुई उपाध्यक्ष, महासचिव र ६ सदस्य निर्वाचित भएका छन् ।
यसैगरी, उपाध्यक्षमा यमनाथ काफ्ले (७१४ मत), तीलविक्रम नेम्बाङ (६५६ मत), प्रयागराज सुवेदी (६५१) र राजु न्यौपाने (६३८) विजयी भएका छन् । नेम्बाङ र न्यौपाने नेपाल प्यानका हुन् भने काफ्ले र सुवेदी श्रेष्ठ प्यानलका हुन् ।

महासचिवमा श्रेष्ठ प्यानलका नवराज घिमिरे ७७७ मत प्राप्त गरी विजयी बने । उनका प्रतिस्पर्धी उमानाथ अधिकारीले ६०५ मत प्राप्त गरे । घिमिरे लामो समयसम्म संघको कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेर अवकाश लिएका थिए । सचिवमा कमल वाँस्कोटा ६७७ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी नविनकिशार न्यौपानेले ६६३ मत प्राप्त गरे । कोषाध्यक्षमा विमला हाङ्सरुम्बा ६८५ मत ल्याई विजयी भइन् भने प्रतिस्पर्धी चन्द्रप्रकाश काफ्लेले ६६५ मत प्राप्त गरे ।

सदस्यमा नेपाल पक्षका दिलीप अधिकारी, सुवास कान्दु, चन्द्रप्रकाश डाँगी, विकेन्द्र वाइवा, नरेन्द्रकुमार राई र विकास थापा निर्वाचित भएका छन् भने श्रेष्ठ पक्षबाट मिलन गिरी, कुमारी मिश्र, शान्ति थेवे श्रेष्ठ, सूर्यकुमार मगर, भीम केरुङ र केशव खनाल विजयी भएका छन् ।

२० सदस्यीय कार्यसमितिको निर्वाचनका लागि १८३६ मतदाता रहेकोमा १६२६ मत खसेको मुख्य निर्वाचन अधिकृत छवि वाँस्कोटाले जानकारी दिए । वास्कोटासहित पाँच सदस्यीय निर्वाचन समितिले निर्वाचन सम्पन्न गराएको हो । ५ गते अधिवेशनको उद्घाटन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Admin
झापा  
Image
Image
Image

© 2018 Sajilokhabar.com  | Powered by DreamSYS IT Solution