Logo
  चैत्र १६, २०८० शुक्रबार

काउन्सिलको आडमा जंगबहादुर बनेकै हुन् किशोर श्रेष्ठ ?



पत्रकार रामकुमार एलनले असार १० गते न्यूज २४ का रबी लामिछाने र जनआस्था साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठका बिषयमा फेसबुक स्टाटस पोस्ट गरे । एलनको पोस्टमा सुनसरीका पत्रकार केशव घिमिरेले रबी र किशोर श्रेष्ठको तुलना गर्दै श्रीशा कार्की प्रकरण उठान गरे ।
श्रेष्ठको बारेमा गरिएको फेसबुक कमेन्टको बिषयमा काउन्सिलले प्रहरी अपराध अनुसन्धान महाशाखामा विद्युतीय कारोवार ऐनको हवला दिँदै उजुरी दर्ता गर्यो । केशव घिमिरे पारिवारिक बिवाहमा रहेको अवस्थामा तीस पैतिस जना हतियारधारी प्रहरीले बिवाह स्थल घेरा गरे । पत्रकार घिमरेलाई सुनसरी प्रहरीले हत्यारा, बलात्कारी संलग्न अभियुक्त खोजी गरे जस्तो गर्यो । घिमिरे प्रहरीको घेराबाट जोगिएर अहिले भूमिगत भएका छन् । घिमिरेलाई एक रात भएपनि प्रहरी कस्टडीमा पूर्याएर सबक सिकाउने श्रेष्ठ र उनका अनुजले घोषणा गरेका छन् ।


किशोर श्रेष्ठसँगको व्यक्तिगत टिकाटिप्पणी प्रेस काउन्सिलको बिषय होइन । प्रेस काउन्सिल पत्रकार बीचको बिवाद मिलाउने अड्डा हो कि पत्रकारलाई जेल नेल ठोक्ने अखडा हो ? पत्रकार घिमिरे बिरुद्धको प्रहरीमा गरिएको उजुरी र उनलाई पक्राउ गर्ने नाममा भएको प्रहरी आतंक राज्य शक्तिको चरम दुरुपयोग हो । प्रेस काउन्सिल पत्रकार आचार संहिता कार्यान्वयन गर्ने, गराउने र नियमन गर्ने निकाय हो । प्रहरी लगाएर पत्रकार तह लगाउने निकाय होइन । पत्रकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा राज्यले अंकुश लागाएको अवस्थामा त्यसका बिरुद्ध बोल्ने अर्धन्यायिक निकाय हो प्रेस काउन्सिल । तर, प्रेस काउन्सिलका नाममा यि सबै मूल्य मान्यतालाई तिलान्जली दिइएको छ ।
के हो श्रीशा प्रकरण ?
१६ वर्ष भएको श्रीशा प्रकरण धेरैले बिर्सिएको हुनसक्छ । नेपाली सिने जगतकी नाइका श्रीशा कार्कीको जनआस्था साप्ताहिकमा २०५९ साल असोज २३ गते फिल्मि नगरीमा रंगीन रात शिर्षकमा नग्न तस्वीरसहितको समाचार छापियो । नग्न तस्वीर मात्र छापिएन उनलाई वेश्या भनियो । पत्रकारिताको सामान्य मूल्य मान्यतालाई लत्याउँदै समाचार छापिएपछि नायिका कार्कीले असोज २८ गते आत्महत्या गरिन् । समाजमा वेइज्जती खप्न नसकेर उनले आत्महत्या गरेको उनको सुसाइट नोटमा उल्लेख छ । नायिका कार्कीले सुसाइट नोटमा सम्पादक श्रेष्ठले आफ्नो शारिरीक तथा आर्थिक शोषण पछि नग्न तस्वीर छापेको आरोप लगाएकी थिइन् । तर कार्कीले लगाएको आरोपले श्रेष्ठको पत्रकारिता उदाङ्गो पारिदिएको छ । कार्कीको नग्न तस्वीर कसरी खिचियो ? कस्ले खिच्यो ? भन्ने प्रश्नको उत्तर नआएसम्म श्रेष्ठलाई श्रीशाको शारिरीक तथा मानसिक शोषण गरेको आरोप तथ्यको नजिक भएको मान्न सकिन्छ ।
कार्कीको मृत्युपछि सिने जगत पत्रकार बिरुद्ध खनियो । श्रेष्ठलाई फाँसी दिन माग गर्दै सडकमा जुलुस लाग्यो । पत्रकार श्रेष्ठ भूमिगत भए । श्रेष्ठका बिरुद्ध प्रहरीले हत्याको अभियोग लगाउँदै पक्राउ पूर्जी जारी गर्यो । प्रहरीले हत्या अभियोगमा अनुसन्धान गरेको मुद्धा अदालतसम्म पुग्नै नदिई सरकारले फिर्ता लियो । कसरी कुन आधारमा सरकारले मुद्धा फिर्ता लियो यो बिषयमा अझैपनि बहस गर्न सकिन्छ ।
श्रीशा प्रकरण नेपालको पत्रकारिताको इतिहासमा कालो पोतिएको प्रकरण हो । नेपालमा पित पत्रकारिताको चरम नमूनाको रुपमा श्रीशा प्ररकणलाई लिइन्छ । नेपालमा पत्रकारिताका शिक्षक र प्रशिक्षकले पित पत्रकारिताको उनिकृष्ट नमूनाको रुपमा जनआस्थाको श्रीशा हत्या प्रकरणलाई लिने गर्दछन् । एउटा पत्रकार र पत्रिकाले मानिसको चरित्र मात्र होइन कसरी ज्यान पनिलिन सक्छ भन्ने उदाहरण हो श्रीशा प्रकरण ।


नेपालमा पित पत्रकारिता, पत्रकारिता र आचार संहिता उलंघनको खोज अनुन्धिान गर्ने पत्रकारिताका अध्येताले श्रीशा हत्या प्रकरणलाई पकारिताको कलंकका रुपमा बुझ्ने गरेका छन् । नेपालका कतिपय पत्रकारले श्रीशा प्रकरणमा पुस्तक पनि लेखेका छन् ।
श्रीशाको मत्युको बिषयमा नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले तत्कालिन अवस्थामा जनआस्थाले आचारसंहिता र व्यक्तिको गोपनियता भङ्ग भएको ठहर गर्दै सम्पादक किशोर श्रेष्ठलाई सार्वजनिक रुपमा माफी माग्न निर्देशन दिएको थियो । तर, श्रेष्ठ एक दशक भन्दा लामो समयदेखि काउन्सिलको सदस्य छन् । केहि महिना यता कार्यवाहक अध्यक्षनै भएका छन् । तरपनि श्रीशा प्रकरणमा उनले माफी मागेका छैनन् ।
श्रीशा प्रकरणमा किशोर श्रेष्ठले काउन्सिल र पत्रकार महासंघको निर्देशनपनि माफी मागेनन् । उनले आफुले लेखेको समाचार ठिक छ भनेर विज्ञप्ति जारी गरे । श्रेष्ठले त्यसबेला सार्वजनिक गरेको वक्तव्यमा सार्वजनिक व्यक्तिको बारेमा लेख्न र छाप्न पाइन्छ भनेका छन् । उनले कार्कीलाई वेश्या कारार गर्दै वेश्यावृति आपराधिक गतिविधि भएको तथ्यहिन आरोप लगाएका छन् ।
श्रीशा कार्कीलाई मर्न बाध्य बनाउनु जायज हो भन्ने किशोर श्रेष्ठका कारेमा केशव घिमिरेले फेसबुकमा लेख्न र टिप्पणी गर्न पाउने कि नपाउने ? पत्रकारिताको सिद्धान्त व्यक्ति पिच्छे फरक हुँदैन । पत्रकारिताको नाममा किशोर श्रेष्ठले गरेको अपराधको बारेमा कसैले चूँसम्म बोल्न नपाइने कस्तो अभिव्यक्ति स्वतन्त्रता हो ? संविधानमा किशोर श्रेष्ठका लागि अलग्गै अभिव्यक्ति स्वतन्त्रताको व्यवस्था त छैन होला ! सर्प खेख्दा दुलो बाहिर हात, माछो देख्दा दुलो भित्र हात भने जस्तो किशोर श्रेष्ठको दुई चरित्र पत्रकारिताको परिभाषा भित्र पर्दैन । श्रीशा प्रकरणमा त्यहि ठिक आफुलाई पर्दा त्यो बेठिक हुँदैन ।
बरिष्ठ पत्रकार रघु मैनालीको रेडियो वचन नामक पुस्तकमा आचार संहिताः नेपाली सन्दर्भमा भन्ने अध्ययामा जनआस्थामा श्रीशा कार्कीको नग्न तस्वीर प्रकाशनको बिषयमा अध्ययन र विश्लेषण गरेका छन् । श्रीशाले आत्महत्या गर्नु पर्ने अवस्था, त्यसमा पत्रकार आचार संहिता, प्रेस काउन्सिलको भूमिकाको राम्रो चिरफार गरेका छन् । पत्रकार मैनालीले उठाएको एउटा गम्भिर प्रश्नको उत्तर अहिलसम्म न काउन्सिलले दिएको छ न किशोर श्रेष्ठले नै दिएका छन् । मैनालीले श्रीशा प्रकरणमा जनआस्थाले पत्रकारिताको सामान्य सिद्धान्त र कानुनको उलंघन गरेको उल्लेख गरेका छन् । जनआस्थाले न्यूनतामा विन्दू नाघेकाले आचारसंहिताको प्रश्न नभएर कानुनी प्रश्न भएकाले कानुन अनुसार नै कारवाही हुनु पर्ने उल्लेख गरेका छन् ।
तत्कालिन सरकारले जनआस्था र किशोर श्रेष्ठलाई श्रीशा प्रकरणमा उन्मुक्ति दियो । उनले पत्रकारिताको आडमा अपराधबाट उन्मुक्ति पाएका छन् । तत्कालिन महान्यायधिवक्ता शुशिल पन्तको सिफारिसमा सरकारले श्रेष्ठको हत्या अभियोग फिर्ता लिएको हो । हो, किशोर श्रेष्ठले अदालतबाट उन्मुक्ति पाएका थिए भने पटक पटक श्रीशा प्रकरण उठाउनु सान्दर्भिक हुँदैनथ्यो । तर, सरकारले उन्मुक्ति दिएकाले श्रीशा कार्कीका परिवार र आफन्तले मात्र होइन नेपाली पत्रकारले पनि उठाइरहने एक प्रश्न हो । सरकारको निर्णय अन्तिम नहुने भएपछि श्रशिा प्रकरण उठिरहन्छ । र सरकारले चाहेमा श्रीशा प्रकरणको मुद्धा अहिलपनि व्यूताउन सक्छ । श्रीशा प्रकरणमा पीडित परिवारलाई न्याय पाउनु पर्छ भनी गरेको संघर्षको माग अहिलेपनि पुरा भएको छैन ।
पत्रकारिताका नाममा हुने कुनैपनि आपराधिक कार्य पत्रकारिताको आदर्श र मूल्य भित्र पर्दैन । पत्रकारिताका नाममा पत्रकारको दुर्नाम गर्ने, हुर्मत लिने र पित पत्रकारिता गर्ने जो कोहिले उन्मुक्ति पाउनु हुँदैन । किशोर श्रेष्ठका नजरमा यो समाचार विश्लेषण पनि विद्युतीय कारोवार ऐनको परिधि ठहरिन सक्छ । शक्तिको दुरुपयोग गरी ऐनको आशय र मक्सदको अपव्याख्या हुनसक्छ । यसले सत्य र निष्ठाको पत्रकारिताले गर्नेका लागि रत्तिभर फरक पार्दैन ।
शक्तिको दुरुपयोग कहिल्यै अन्तिम हुँदैन । यो क्षणिक हुन्छ । राजा ज्ञानेन्द्रलाई पनि आफुले ठिकै गर्दैछु भन्ने भ्रम थियो । तर, जनताले तिनले गरेको शक्तिको दररुपयोगलाई सदाका लागि अन्य गरिदिए । पत्रकारितामा शक्तिको दुरुपयोग कुनै अर्थमा स्वीकार्य हुन सक्तैन । प्रेस काउन्सिल वा अरु कुनै राज्य शक्तिको प्रयोग गरेर निष्ठामा हिँड्ने पत्रकारलाई सिध्याउँछु भन्ने कसैले ठानेको छ भने भ्रम सिवाय केहि होइन । काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले पनि शक्ति दुरुपयोग नगर्दा भलो हुन्छ । शक्तिको दुरुपयोगले केहि समय जंगबहादुर भएपनि सँधै हुन सकिँदैन । पत्रकारितामा जंगबहादुरहरुको होइन, निष्ठा र इमान भएका क्षमतावान पत्रकारको आवश्यक्ता छ ।

प्रतिक्रिया दिनुहोस्