Logo
  चैत्र १६, २०८० शुक्रबार

तस्करले किन छाने पशुपतिनगर नाका ?



बिर्तामोड, साउन ५ । इलामको पशुपतिनगर नाका प्रयोग गरी प्रहरीसँगको मिलेमतोमा तस्करी हुने गरेको पाइएको छ । ठूलो परिमाणको सामान मेची भन्सारबाटै भित्रिनुपर्ने भए पनि राजस्व छली गर्न तस्करले पशुपतिनगर नाका प्रयोग गर्ने गरेको देखिएको हो ।

अवैध ओसारपसारमा प्रहरीकै सवारी साधन प्रयोग हुने गरेको फेला परेको छ । अवैध ढंगले भित्र्याइएको कपडासहितको मिनी ट्रक दबाबपछि गत शुक्रबार सशस्त्र प्रहरीले छाडिदिएको खुलेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको टोलीले ट्रक नियन्त्रणमा लिएको थियो ।

बुद्धशान्ति गाउँपालिकास्थित पुलचोकबाट शुक्रबार दिउँसो साढे ३ बजे मे.१ख २४९८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको थियो । ट्रकमा चालकसहित चार जना कामदारसमेत थिए । भन्सार कागजात र बिल देखाउन नसक्दा सामान र ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ट्रक इलामको पशुपतिनगरबाट झापाको बिर्तामोड बजारतर्फ आइरहेको थियो । ट्रकमा पर्दाको कपडा, साडी, कुर्ता, सुरुवाललगायत रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका एसपी रेशमकुमार थाक्सुले बताए ।

ट्रक र सामान लिएर सशस्त्र प्रहरी शुक्रबार साँझ ५ बजे सीमा सुरक्षा कार्यालय पुगेका थिए । ट्रक प्रहरी हवल्दार खम्बुसिंह बानियाँ र सामान पशुपतिनगरका व्यापारी चन्दन सिंघलको रहेको खुलेको छ । प्रहरी हवल्दार बानियाँले केही समयअघि पशुपतिनगरमा घुमुवा प्रहरीका रूपमा काम गरेका थिए । उनको सरुवा भइसकेको जनाइएको छ । सामानधनी सिंघलले चिनियाँ सामग्री र भारतीय कपडा कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।

तस्करीको सामानसहितको ट्रक सशस्त्रले छाडिदिएको जानकारी झापाकै अन्य व्यापारीबाट बाहिरिएको थियो । प्रहरीको ट्रक भएकाले सशस्त्रले छाडिदिएको आरोपसमेत व्यापारी समूहले लगाउन थालेका छन् । झापामा आइपुगेपछि एक व्यापारी ट्रक छुटाउन सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थाक्सुलाई भेट्न पुगेका थिए । तीन व्यापारी पुग्नुअघि नै थाक्सुलाई राजनीतिक र प्रहरी संगठनबाटै ट्रक छाडिदिन दबाब आएको स्रोतले बताएको छ । दबाबपछि शुक्रबार राति ९ बजे ट्रक छाडिएको थियो ।

थाक्सुले ट्रक दबाबमा नभई व्यावहारिकता हेरेर छाडिदिएको प्रतिक्रिया दिएका छन् । ‘ट्रक भाडामा लिएको बुझिएकाले भन्सार पुगेर पनि छुट्ने नै रहेछ’, उनले भने, ‘त्यसैले ट्रकधनीको व्यावहारिकता हेरेर छाडियो ।’

पशुपतिनगरबाट भित्र्याइएको सामान कानुनी रूपमा मान्य नहुने जनाइएको छ । पशुपतिनगर भन्सार कार्यालयमा २० हजार रुपैयाँसम्मको सामानको प्रज्ञापनपत्र पनि काटिँदैन । पशुपतिनगर जोडिएको भारतको बंगाल नाकामा भन्सार कार्यालय नभएकाले त्यहाँबाट एसएसबीले छाडिदिएको सामान मात्र नेपाल भित्रिन्छ । एसएसबीले छाडिदिए अनुसार नै पशुपतिनगर भन्सारले सामानको प्रज्ञापनपत्र काट्ने गरेको मेची भन्सारका अधिकृत गणपति कँडेलले बताए । उनका अनुसार पशुपतिनगर नाकाबाट पारिवारिक प्रयोजनबाहेकका ठूलो परिणामको सामान पनि आउने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्