Logo
  बैशाख ८, २०८१ शनिबार

प्रचार नहुँदा ताप्लेजुङको ‘तिम्बुङ पोखरी’ ओझेलमा



ताप्लेजुङ, २७ भदौ । ताप्लेजुङको सिदिङ्बा गाउँपालिकामा तिम्बुङपोखरी प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । ताप्लेजुङको सिदिङ्बा गाउँपालिका १ कालिखोला र पाँचथरको सिमानामा अवस्थित पर्यटकीय स्थल तिम्बुङपोखरीको आवश्यक प्रचार–प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भदौ २२ देखि २४ गतेदेखि तेस्रो तिम्बुङपोखरी महोत्सवको सम्पन्न भएको छ ।

धार्मिक दृष्टिले महत्वपूर्ण मानिने तिम्बुङपोखरी सदरमुकाम फुङ्लिङदेखि २६ कोष टाढा करिव तीन दिनको पैदल दूरीमा पर्दछ । प्रशस्त सम्भावना भएर पनि हालसम्म पर्यटन प्रवद्र्धन तथा विकासका लागि आवश्यक प्रचारप्रसार र अन्य क्रियाकलाप नभएकै कारण ओझेलमा परेको महशुस गरी वर्षेनी महोत्सवको आयोजना गरिएको हो ।

सिदिङ्बा गाउँपालिका सभाले प्रचार प्रसार गर्ने उद्देश्यले यस वर्षको महोत्सव आयोजना गरेको गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिए । अध्यक्ष कडरियाले जैविक विविधताको संरक्षण, ग्रामीण तथा अन्तर्राष्ट्रिय पर्यटनको विकास र साँस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव हुने गरेको बताए ।

अन्तर्राष्ट्रिय जैविक मार्गको रुपमा रहेको धार्मिक पर्यटकीय क्षेत्र तिम्बुङ पोखरीसँगै नजिक रहेका सिदिङ्बा गाउँपालिका भित्रका ढङ्ढङ्गे झरना, काली पोखरी, हात्ती ढुङ्गा लगायतका पर्यटकीय स्थलको प्रवद्र्धन र प्रचारप्रसार हुन सके पूर्वी नेपालकै पर्यटन विकासमा टेवा पुग्ने देखिन्छ ।

भारतको सिक्किमसँग सीमा जोडिएको पर्यटकीय दृष्टिकोणले प्रशस्त सम्भावना बोकेको तिम्बुङपोखरीको भौतिक पूर्वाधार विकास साथै आवश्यक प्रचार–प्रसार भएमा हजारौं भारतीय पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ । तर, हालसम्म यस स्थललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्छ भन्ने ध्यान नजाँदा ओझेलमा परेको छ ।
स्थानीय निकाय तथा जिल्ला विकास समितिको पहलमा दुई पटकसम्म तिम्बुङपोखरी महोत्सवको आयोजना गरिएको थियो । त्यस्तै

कालिखोलाका स्थानीबासीको पहलमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले तिम्बुङ् पोखरीको गुरुयोजना बनाई केही कार्य पनि गरेको स्थानीय टइन्द्र चापागाईंले बताए । चापागाईंका अनुसार गुरु योजनालाई निरन्तरता नदिँदा कुनै उपलब्धिमुलक काम हुन नसकेको हो । गुरु योजनाका रुपमा कार्य सुरु गर्दा स्थानीय तथा सरोकारवाला निक्कै हौसिएका थिए तर, योजनाले निरन्तरता नपाउँदा र केही पनि प्रगति नहुँदा जनताको अपेक्षा निरासामा परिणत भएको छ ।

चार हजार ४८१ मिटरको उचाइमा रहेको तिम्बुङपोखरीमा हालसम्म धार्मिक पर्यटक मात्र दर्शन, भ्रमण र अवलोकनका लागि जाने गरेका छन् । पोखरीको दर्शन गरेमा सोचे चिताएको पुग्ने धार्मिक विश्वास रही आएका कारण साउन महिनामा दर्शनार्थी तथा पर्यटकको घुँइचो लाग्ने स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार नागपञ्चमी पर्वको अवसर पारेर हरेक वर्ष साउनदेखि असोज महिनासम्म दर्शनार्थीको आगमन हुने गरेको छ । उक्त ठाउँमा पूर्वी नेपालका विभिन्न ठाउँ साथै भारतको सिक्किम, दार्जिलिङ लगायतबाट दर्शनार्थी आउने गरेका छन् ।

सुन्दर तिम्बुङपोखरीको दर्शन भ्रमणसँगै यस क्षेत्रमा पाइने विश्वमै दुर्लभ रेडपाण्डा (हाब्रे), डाँफे लगायतका अन्य जीव जनावरहरु र बहुमूल्य जडिबुटीहरु समेत प्रत्यक्ष देख्न र अवलोकन गर्न पाइने बताइएको छ । यस्तै कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका हिमालको दृश्यावलोकन गर्न सकिने पनि सिदिङ्बा गाउँकार्यपालिकाका सदस्य समेत रहेका स्थानीय कैलास राईले जानकारी दिए । गाउँपालिकाका उपाध्यक्ष जीवनकुमार ताम्लिङले प्रचार प्रसारको कार्ययोजना बनाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्