Logo
  बैशाख ८, २०८१ शनिबार

पार्टी एकतामा किन भयो विलम्ब ?



देशका दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच एकता घोषणा भएको एक वर्ष वितिसकेको छ । एउटै पार्टी बनेको पनि छ महिना भएको छ । तर पनि अधारभूत तहसम्म पार्टीका कमिटीहरु एक भएका छैनन् । ४४१ सदस्यीय केन्द्रीय समिति र सातवटा प्रदेशमा ४ सदस्सीय प्रदेश समिति बाहेक पार्टीका अन्य कुनै संरचनाहरु बनेका छैनन् । यसले कार्यकर्ता तहमा ठूलो निराशा र अन्योलको अवस्था सिर्जना गरेको छ । यो एकीकृत पार्टी र देशकै लागि पनि राम्रो संकेत होइन ।

कार्यकर्तामा आधारित भनिने कम्युनिष्ट पार्टीमा कार्यकर्ताहरु कुनै कमिटीमा संगठित छैनन् । केन्द्रीय समतिकै बैठक नबसेको लामो समय भैसेकेको छ । जनतालाई पार्टीमा गोलबन्द गर्ने पार्टीका संयन्त्रहरु नहुंदा जनता पनि पार्टीका नीति र कार्यक्रमबारे अन्यौलमा छन् ।

एउटा जीवन्त पार्टीका लागि कार्यकर्ताको परिचालन अत्यन्त महत्वपूर्ण सर्त हो । कार्यकर्ता परिचालन गर्ने र तिनलाई पार्टीको नीति तथा कार्यक्रमबारे सुसूचित गर्ने औपचारिक कमिटीहरु छैनन् । यसको असर सरकारको कामकाजमा पनि परेको छ । पार्टी संस्थागत नहुँदा संघीय, प्रदेश र स्थानीय तहका सरकार बेलगाम जस्तै भएका छन् । पार्टीले तिनै तहका सरकारलाई बिकास निर्माण र सरकार संचालनमा गर्नु पर्ने सहयोग हुन सकेको छैन ।

संगठित कार्यकर्ताहरुले नै जनताका बीचमा सरकारको लोकप्रियताको प्रवाह गर्न सक्छन् । दुई तिहाईको सरकार पनि सफल हुन नसक्नुमा यही कमजोरी छ । सरकारको बचाउमा लाग्ने कार्यकर्ता नै निराश र असंगठित छन् । यो परिस्थिितको अन्त्य नभएसम्म सरकार र मुलुक दुवै कुहीरोको काग बन्ने देखिन्छ ।

पार्टीको समग्र एकतालाई कसले रोकेको छ ? के पार्टीको शीर्ष नेतृत्व एकताको विलम्बले सिर्जना गरेको परिस्थितिप्रति बेखबर छ ? माक्र्सवाद र लेनिनवादको मूलभाव र त्यसको वैचारिक दार्शनिक सारलाई नेतृत्वले बुझेको छैन होला र ? कतै देशी विदेशी शक्तिहरु त पार्टीभित्र खेल्न सफल भएका छैनन् ? आजको परिस्थितिलाई हेरिरहेका तमाम कार्यकर्ता र शुभचिन्तकहरु यी प्रश्नहरु पनि गर्न बाध्य भैरहेका छन् । यो बीचमा थुप्रै समिति र उपसमितिहरु पनि बने ।

तिनलाई एकतालाई मूर्त रुप दिन निश्चित समय सीमा पनि दिइयो । केहीले समयमै प्रतिवेदनहरु पनि बुझाए । कतिले दिएनन् । ती समितीहरुको म्याद पनि थपियो । तर एकताले कुनै आकार लिन सकेन । यसले आम जनता र कार्यकर्तालाई निराश बनाउने काम मात्र गर्यो । कतिपय नेताहरु मूल नेतृत्वको आँखी परिन्छ कि भनेर एकतामा भैरहेको ढिलाईबारे कुनै प्रतिक्रिया नदिइ बसे ।

दोेस्रो तहका नेताहरु चुप लागेर बस्दा नेकपाको पार्टी एकता अझै धकेलिन सक्छ । २१ क्ेन्दीय सदस्यले छिटो पार्टी एकता गर्न दिएको दवाबलाई गुटगत चश्माले मात्र हेर्नु सान्दर्भिक हुँदैन । युवा पस्ताका नेताले नयाँ पार्टी निर्माणका लागि नयाँ ढंगले सोच्नु पर्दछ । जनता र कार्यकर्ता निराश हुने कुराले देशलाई घाटा हुन्छ ।

एकता किन रोकिएको छ, जनता र कार्यकर्तालाई नेताहरुले जवाफ दिनै पर्दछ । सधैंभरि अन्यौल र अनिर्णीत अवस्थामा राख्नु हुंदैन । यदि कसैको चलखेलका कारण रोकिएको हो भने त्यस्तो घेरा तोड्न सक्नु पर्दछ । अन्यथा एकतामा ढिलो गर्नु राम्रो संकेत होइन ।
समय बितेपछि हुने एकता प्रभावकारी नहुन सक्छ । यसमा मुलतः दुई अध्यक्ष र पार्टीका नेताले बेलैमा बुझ्न सक्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्