Logo

विपीको विरासत फर्किएला त काँग्रेसमा ?



नेपाली काँग्रेस भित्र कोइराला परिवारका नेताहरुको राजनीतिक विरासतको चर्चा र बहश सुरु भएको छ । कोइराला परिवारका नेताहरुको आन्तरिक एकतासँगै विरासतको चर्चा भएको हो । कोइराला परिवारको विरासतको विषय सकारात्मक नकारात्मक दुबै कोणबाटा चर्चा र बहस भएको छ ।

कोइराला परिवारको विरासतको विषय परम्परावादी, रुढिवादी र सामन्तवादी साँेच हो भनेर आलोचना गर्ने पनि  छन् काँग्रेसमा । कतिपयले कोइराला परिवारको विरासतलाई विपी कोइरालाको विचारसँग जोडेर हेर्न गर्दछन् । विपीलाई जत्तिकै नभए पनि कोइराला विरासतलाई सम्मानजनक रुपमा लिने पनि काँग्रेसमा हजारौँ छन । राजनीतिमा यस्ता विषयमा चर्चा बहस र फरक मत र टिप्पणी हुनु स्वभाविक हो ।

पारिवारिक विरासतको मुद्दा राजनीतिक नेतृत्वमा रुपमा स्थापित हुन सक्छ ? किन राजनीतिक नेतृत्वमा विरासतको मुद्दाले स्थान पाउने गर्दछ ? विरासतको मुद्दाका चुनौतिवाट उब्जिने अनुकुलता हो कि त्यो सहुलियत हो ? काँग्रेसमा वीपीको विरासत भनेको कोइराला परिवार मात्र हुन् वा अरु पनि हुन् ?
काँग्रेसमा विपी कोइरालाको भावना र विचारको कदर हुन्छ । अहिलेसम्म पनि काँग्रेस विपीको विचारभन्दा फरक रहेर चल्न सकेको छैन । विपी विचारवाट प्रभावित र संचालित काँगे्रसमा विपीको विरासतको दावाले नेतृत्वको ओजलाई स्थापित गर्छ भन्ने कुरामा काँग्रेसीहरु एकमत देखिन्छन । यसैले काँग्रेसमा पारिवारिक रूपमा विपीको ‘लिगेसी’ कसले बोक्ने ? तीन भागमा बाँडिएको काँग्रेसलाई एक ठाउँमा ल्याएर नयाँ काँग्रेस अभियानमा जोड्न कसले सक्छ ? भनेर अहिले विरासतको मुद्दा प्रखर बनेर आएको छ ।

नेपाली काँगे्रसको सत्तरी वर्षको इतिहासमा कोइरालाले काँग्रेसलाई ४९ वर्ष आफ्नो नेतृत्वमा चलाए । कोइराला परिवारबाट काँग्रेसमा चार सभापति बने । ००३ सालमा काँग्रेस पार्टी स्थापना भएयता विपी कोइरालाले पाँचपटक गरेर २५ वर्ष काँग्रेसको नेतृत्व लिए । मातृकाले दुईपटक गरेर चार वर्ष, गिरिजाप्रसादले तीनपटक गरेर १४ वर्ष र सुशील कोइराला कार्यवाहकसहित दुईपटक गरेर ६ वर्ष काँग्रेस नेतृत्वमा बसे । गिरिजाप्रसाद र सुशील कोइरालाको निधनपछि कोइराला परिवारबाट काँग्रेसकोे नेतृत्व शेरबहादुर देउवाको हातमा पुग्यो ।

कोइराला परिवार भन्दा वाहिरको नेतृत्वका रुपमा सुवर्ण शमसेरको नेतृत्व २ वर्ष मात्र रहेको थियो भने ०३४ सालमा बिपीले स्वास्थ्यको कारण देखाएपछि भट्टराई कार्यवाहक सभापति बने । ०३९ सालमा विपीको निधनपछि पनि ०४७ सालसम्म कार्यवाहक र २०४८ सालमा निर्वाचित सभापति भएर भट्टराईले ०५३ सालसम्म गरी १९ वर्ष काँग्रेस चलाए । काँग्रेसमा कोइराला परिवारलाई लामो समय चुनौती दिनेमा कृष्णप्रसाद भट्टराई मात्र रहे । भट्टराईको कार्यकाल १९ वर्ष रहेता पनि भट्टराईले काँग्रेसको नेतृत्व गर्दा पनि कोइरालाको सद्भावबाट उनी टाढा रहन सकेनन् ।

सुशील कोइरालाको निधनपछि कोइरालाले रामचन्द्र पौडेललाई सभापतिमा अघि सारे । पौडेलले देउवालाई चुनौती दिन सकेनन् । पौडेललाई समर्थन गरिरहदा देउवालाई चुनौती दिन नसकिने निष्कर्षमा कोइराला परिवार पुग्यो । देउवाको राजनीतिक पकडवाट काँग्रेसको राजनीतिलाई वाहिर ल्याउन कोइराला परिवार एकजुट हुनुपर्ने दवाब काँगे्रसमा बढ्न थाल्यो । यसकारण पनि १४ औँ महाधिवेशन आउँन तीन वर्ष अगाडिदेखि नै कोइराला गुमेको राजनीतिक बिरासत फर्काउन लागिपरेका छन् ।

जसरी पनि देउवाको हातवाट राजनीतिक विरासत फर्काउने अभियानमा बिपीपुत्र एवम् महामन्त्री डा. शशांक, नोना पुत्र डा. शेखर र गिरिजा पुत्री सुजाता कोइराला बीचको भेट बाक्लिँदै गएको छ । नियमित भेटघाट र बैठकका श्रृखला तिब्र वनाउन थालिएको छ । यसैक्रममा, पूर्व संस्थापनका नेतालाई एकजुट गरेर बलियो गठबन्धन बनाउने अभियानमा उनीहरू सक्रिय छन् ।

गिरिजादेखि सुशील कोइरालासम्म आइपुग्दा पार्टी व्यवस्थित नभएको, विधि र विधानको पालना नभएको भन्दै देउवाले राजनीति मात्र गरेनन्, यही नाराले १३ औँ महाधिवेशनबाट नेतृत्वमा पुगे । तर, महाधिवेशन भएको साढे दुई वर्षसम्म पार्टीलाई राम्रो व्यवस्थापन गर्नमा देउवा पनि चुकेको टिप्पणी हुन थालेको छ । कोइरालासँग प्रतिस्पर्धा गरेर नेतृत्वमा पुगेका देउवावाट काँग्रेसले गतिलिन नसकेपछि पुनः कोइराला विरासतको विषयले काँग्रेसमा चर्चा पाएको हो ।

देउवाको असफलताले काँग्रेसमा कोइराला परिवारको विरासतको बहस प्रारम्भ भएको हो । नेतृत्वमा विरासतको दावी–चुनौतीवाट उब्जिएको अनुकुलता हो कि सुविधा हो ? नेपाली काँगे्रसको अहिलेको अवस्थालाई हेर्दा, विरासतको दवी चुनौतीवाट उब्जिएको अनुकुलता हो भन्न सकिन्छ । कोइरालाहरुको विपक्षमा उभिएको राजनीतिक धारले पार्टीलाई गति दिन सकेन भन्ने धेरैले चर्चा गर्न थालेका छन ।

कृष्णप्रसाद कोइरालाको योगदानवाट शुरुवात भएको काँग्रेसको राजनीति तेश्रो पुस्तामा आइपुग्दा पनि कोइराला परिवारवाट प्रभावकारी वैचारिक नेतृत्व कायमै रहेको अवस्थामा कायमै छ । यस्तो अवस्थामा पार्टीलाई एकीकृत वनाएर लैजान सक्ने राजनीतिक विरासतको रुपमा कोइराला परिवारतिर ध्यान पुग्नु र उनीहरुको प्रमुख भुमिकाको खोजी हुनु अस्वाभाविक देखिदैन ।

केही राजनीतिक आलोचक चुनौतीको अनुकुलतालाई सुविधाको रुपमा ब्याख्या गरिरहेका छन् । राजनीतिक विरासतको अधिकार कोइराला भएकै कारणले प्राप्त गर्न पाउने सुविधा होइन भन्ने कुरामा यो पंङ्कतिकार पनि सहमत छ । परिवार र थर मिल्ने भएकै कारणले कसैलाई पनि त्यो सुविधा दिनुपर्छ भनेर दावी गर्नु जायज हुन्न । तर, के अहिलेको काँग्रेसको राजनीतिमा शेखर, सशांक र सुजाता भुमिकाविहिन र विना योगदान र क्षमता विहिनतावाट गुज्रिरहेका छन त ? भन्ने प्रश्न र त्यसको जवाफ पनि सँगसँगै जोडिएर आउँछ ।

दक्षिण एशियाको राजनीतिलाई हेर्दा वंशानुक्रम र नेतृत्वबीचको सम्बन्ध वास्तवमै जटिल र प्रयोगात्मक रुपमा रहेको देखिन्छ । राजनीतिक परिवारमा जन्मेकाहरुका लागि राजनीति पूर्वनिर्धारित प्रारब्ध बनेर आएको हुन्छ । वालक अवस्था देखिनै राजनीतिक परिवेशमा हुर्कने, राजनीतिक शब्दहरु सुन्ने, बुझ्ने र प्रयोग गर्ने, राजनीतिक ब्यक्तिहरुसँगै भेटघाट हुने अवस्थाको प्रारब्धताले यस्तो परिवारमा हुर्किएकाहरुमा अन्य परिवारमा हुर्किएकाहरुको भन्दा राजनीतिक आचरण, दिक्षा, ज्ञान र क्षमतामा भिन्नता आउने गर्दछ । त्यसैले पनि विरासतको चर्चा चल्ने गर्दछ ।

विरासतको विषय राजनीतिमा मात्र लागु हुदैन, ब्यापार, व्यवशाय वा रुचीमा पनि त्यो लागू हुन्छ । व्यापारीको सन्तान व्यापारी हुने, उद्योगीको सन्तान उद्योगी हुने वा अन्य पेशामा संलग्न रहेका वंश या परिवारका सन्तानहरु त्यही पेशामा सफल र सक्षम हुने प्रचलन दक्षिण एशियाको संस्कृति नै वनेका उदाहरण धेरै छन् ।
माहात्मा गौतम बुद्धको एउटा कथा छ । सिद्धी प्राप्त गरेपछि उनी आफना अनुयायीसहित कपिलवस्तु आएका थिए । बुद्धको लावालस्करमा एउटै पोशाक लगाएकाको ठूलो भिड थियो । वाबुको अनुहार कहिल्यै नदेखेका वालक राहुलले आमा यशोधरालाई सोधेछन्–‘त्यो भिडमा कुनचैं मेरा पिता हुन ?’ यशोधराले भनिछन्–‘पुत्र, जो सिंहझैं हिँडिरहेका छन्, तिनै तिम्रा पिता हुन् ।’ अर्थात, हुलियावाट होइन स्वभाववाट अगुवा बन्न सकिने रहेछ । स्वभावको निर्माणमा वंश र वंशिय अनुकुलताको प्रारब्धको महत्वपूर्ण योगदान रहन्छ ।

मेरो विचारमा नेपाली काँगेस भित्रको कोइराला विरासतको बहस चुनौतिले जन्माएको अनुकुलता हो । यो सुविधा होइन । यसलाई सुविधाका रुपमा आलोचित गरिनु हुदैन । तर, काँगे्रस भित्र यथास्थितिवादलाई कायम राख्नेहरु, यसलाई सुविधाका रुपमा चर्चामा ल्याएर विवादित वनाउने प्रयास गरिरहेका छन् । र, कोइराला परिवारले पनि के बुझन जरुरी छ भने, यो चुनौतिवाट उब्जिएको अनुकुलता कोइरालाको मात्र नीजि र वंशिय अनुकुलता होइन ।

यस अनुकुलतामा कृष्णप्रसाद कोइराला देखि विपी, गिगरिजा, शुशील कोइरालाहरुको त्याग, समर्पण, दर्शन र सिद्धान्त जोडिएको छ । त्यति मात्र होइन, कोइराला परिवारको अनुकुलता भित्र उनीहरुको त्याग, योगदान र मार्गदशर्शन गर्ने क्षमतालाई लाखौं कार्यकर्ताले स्वीकार गरेको स्वीकारोक्तीको मिश्रण पनि रहेको छ । त्यसैले पनि, अहिलेको काँग्रेसको राजनीति विस्तारै कोइराला परिवार र समर्थकतर्फ मुखरित हुँदैछ । यसैलाई विरासतका नाममा चर्चामा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्