Logo
  चैत्र ६, २०८० मंगलबार

किन हिँड्दै छ काँग्रेस हिन्दू पथको यात्रामा ?



नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दू धर्मका विषयमा जनमत लिनु पर्ने धारणा सार्वजनिक गरेका छन् । कोइराला पार्टी नेतृत्वमा आएदेखि नै हिन्दू धर्मका विषयमा विवाद्स्पद र लचिला धारणा व्यक्त गर्दै आएका छन् । उनी नेपाल धर्मनिरपेक्ष राज्य भएकोमा असन्तुष्ट छन् ।

संविधान निर्माणका समयमा काँग्रेस धर्मनिरपेक्षताको पक्षमा उभीएको थियो । बिगतमा काँग्रेसले गरेको निर्णय शशांकले अहिले उल्ट्यान सक्ने अवस्था छैन । तर, उनी बिस्तारै हिन्दू धर्मको जनमत आफ्नो पक्षमा पार्ने रणनीतिमा लाग्दै गएका छन् ।
काँग्रेसमा हिन्दू धर्मको लाखौँ जनमत छ । उनीहरु नेपाल धर्मनिरपेक्ष राज्य भएकोमा सन्तुस्ट छैनन् । तर, पार्टीले गरेको निर्णयका विरुद्ध जान पनि सक्ने अवस्थामा छैनन् । पार्टीले हिन्दू धर्मका पषमा कुनै निर्णय गरे काँग्रेस भित्र त्यसले राम्रै समर्थन पाउने अवस्था हुँदै गएको छ ।

हुन त, काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्काले काँग्रेसलाई हिन्दू धर्मको पक्षमा अभीयान नचलाएका होइनन् । तर, खड्काको भ्रष्ट चरित्र र बदनाम राजनीतिक पृष्टभुमीका कारण हिन्दू धर्मका पक्षपातीले मात्र होइन, काँग्रेसीजनले पनि अभियानलाई पत्याएनन् । खड्काले हिन्दू धर्मका पक्षमा देशव्यापी चलाएको जागरण अभियान खासै प्रभावकारी भएन । जसले संविधान निर्माणमा कुनै प्रभाव पारेन ।

दोस्रो संविधानसभाको निर्वाचनसम्म कमल थापाको राप्रपा नेपाल हिन्दूवादी पार्टीका रुपमा स्थापित हुँदै गएको थियो । तर, उनलाई परिवर्तनका पक्षमा उभीने जनमतले समर्थन गर्न सक्ने अवस्था थिएन । हिन्दू धर्मसँगै उनको राजतन्त्र फर्काउने एजेण्डाले परिवर्तनका पक्षपाती राप्रपाको पक्षमा उभीन नसकेका हुन् । त्यसमा पनि उनको सत्ता लिप्सा चरित्रले २०७२ सालको निर्वाचनमा नराम्रो हार व्यहोर्नु पर्यो र हिन्दुत्वको एजेण्डाले सेडव्याक खायो ।

निर्वाचनमा पराजय व्यहोरेको काँग्रेस एजेण्डा विहिन भएको छ । कुनै एजेण्डा नभए पनि काँग्रेसका सभापति शेरबहादुर देउवा आलोचनाका पात्र भएका छन् । काँग्रेसमा एजेण्डाको खोजी गर्ने क्रममा शशांकको हिन्दूत्वको नारामा धेरै काँग्रेसका नेताको आकर्षण बढ्दै गएको छ । काँग्रेसका अरु नेता भन्दा शशांकलाई हिन्दूत्वको नारा उठाउन सजिलो भएको छ । संविधान निर्माण प्रक्रियामा मात्र होइन, कोइराला राजनीतिमा खासै सक्रिय थिएनन् ।

धर्म निरपेक्षताको प्रक्रियामा सामेल नभएका शशांकलाई पहन्दूत्वको मुद्दा उठाउन जति सजिलो छ, काँग्रेसका अन्य नेतालाई नैतिक समस्या हुन्छ । शशांकले धर्मनिरपेक्षताको स्वामित्व ग्रहण गरेका छैनन् । उनी हिन्दूत्वको पक्षमा उभीँदै आएका छन् । शशांक हिन्दूत्वको नाराले एक तिरले दुई शिकार गर्ने पक्षमा छन् । पहिलो, काँग्रेसमा हिन्दूत्वको पक्षमा उभीएका नेता, कार्यकर्ताको मत आफ्नो पक्षमा पार्ने र काँग्रेसमा आफ्नो बलियो उपस्तिति बनाउने ।

शशांक विपीको लिगेशी र पार्टी भित्रको हिन्दूत्वको जनमत प्रयोग गरेर महाधिवेशनबाट सभापति हुने दाउमा छन् । दास्रो, काँग्रेस एजेण्डा विहिन भएकाले हिन्दूत्वको एजेण्ड स्थापित गर्ने र हिन्दू जनमत काँग्रेसको पक्षमा पर्ने । र, आगामी निर्वाचनमा बहुसंख्यक हिन्दूको जनमत आफ्नो पक्षमा पारेर काँग्रेसलाई पहिलो पार्टी बनाउने ।

काँग्रेसको आशन्न महासमितिको बैठकमा हिन्दूत्वको नाराले अघोषित रुपमा प्रवेश पाउँदैछ । काँग्रेसका नेताहरु महासमितिबाट हिन्दूत्वको विषयमा प्रवेश गराउने र आकार दिने रणनीतिमा लागेका छन् । काँग्रेस भित्र हिन्दूत्वको नारा पुनःस्थापित भएमा त्यसले भारतको पनि बलियो समर्थन पाउने उनीहरुको बुझाइ छ ।

काँग्रेसमा कतिपयको बुझाइ अब राजनीतिक नारा र एजेण्डा भन्दा हिन्दूत्वको नारा कामयावी हुने तर्क गर्न थालेका छन् । काँग्रेस भित्र औपचारिक रुपले हिन्दूत्वको मुद्दाले प्रवेश पाए त्यो कुनै आश्चर्यको विषय हुँदैन । काँग्रेसले मनैदेखि हिन्दू धर्म र राजतन्त्र त्यागेको पनि होइन । निरंकुश राजतन्त्रका विरुद्ध संघर्ष गरेका कार्यकर्ता र जनमतको राप र तापले काँग्रेस बाध्य भएर धर्मनिरपेक्ष र गणतन्त्रमा सहमत भएको हो ।

क्रान्तिकारी चरणको समाप्ति पछि पुरानतवादी सोँच पुनःस्थापित हुनु कुनै आश्चर्य होइन । अगाडि बढ्ने विचार र सिद्धान्त नहँुदा पुरानो विचार र सिद्धान्तले काँग्रेसमा पुनः आकार ग्रहण गर्न लागेको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा काँग्रेस परिवर्तनको विपक्षमा उभीन थालेको आरोप लगाए । परिवर्तनका कुन कुन एजेण्डाका विपक्षमा काँग्रेस लागेको छ भन्ने प्रस्ट नपारे पनि प्रचण्डको संकेत काँग्रेसमा हिन्दू धर्मको बहस हुनसक्छ ।

क्रिश्चियन धर्म प्रचारक संस्थाको आरोप लागेको एशिया प्यासिफिक समिट काँग्रेसले बहिस्कार गरेको छ । काँग्रेसको यो बहिस्कार कुनै सम्योग मात्र होइन, अघोषित रुपमा क्रिश्चियन धर्म प्रतिको गम्भिर असहमति हो । हिजो धर्म निरपेक्षताको पक्षमा उभीएको काँग्रेसको यो बहिस्कार र प्रचण्डको आरोपले महत्वपूर्ण अर्थ राख्दछ ।

काँग्रेस एकै पटक हिन्दू धर्मको पक्षमा उभीँदा पार्टी भित्र र बाहिरको जनमत विपक्षमा हुन सक्छ भन्ने त्रासले बिस्तारै हिन्दूत्वको पक्षमा उभीन थालेको छ । काँग्रेसका पछिल्ला गतिविधि र शंकेतले बिस्तारै हिन्दूपथमा हिँड्न थालेको भान हुन्छ । कुनै दिन काँगैस हिन्दू पार्टीमा रुपान्तरित भए कुनै आश्चर्य नहुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्