Logo
  चैत्र ६, २०८० मंगलबार

सीआईएको डिजाइनः कम्युनिष्ट मास्न इसाई मिसनको यूपीएफ नयाँ अवतार



युनिफिकेसन चर्चसम्बद्ध युनिभर्सल पिस फेडरेसन (यूपीएफ)को (मंसिर १४–१७) काठमाडौंमा आयोजित सम्मेलनको मुख्य अन्तर्यको रहस्योद्घाटन हुँदै जाने क्रममा छ । विश्व कम्युनिस्ट आन्दोलनलाई सखाप पार्न अमेरिकी जासुसी संस्था सीआईएले डिजाइन गरिदिएको ‘डिभाइन सिद्धान्त’ मार्फत् युनिफिकेसन चर्च र यसको भातृ संगठन यूपीएफले भूमिका गर्दै रहेको सूचना प्रस्ट भइसकेको छ ।

विश्व कम्युनिस्ट आन्दोलनलाई सखाप पार्ने र कम्युनिस्ट अभियन्तालाई ‘सैतान’ नाम दिने तिनै युनिफिकेसन चर्चका संस्थापक सन म्युङ मुन, उनकी श्रीमति हक जा हान मुन र उनको अभियान ‘युनिभर्सल पिस फेडरेसन’ लाई सघाउन नेपालका कम्युनिस्ट नेताहरु लागिपर्नु रहस्यपूर्ण त छँदैछ, सँगसँगै सूचनाको पहँुच सर्वत्र भएको आजको युगमा झुक्किएको मात्र मान्न सकिने स्थिति भने छैन ।

बीसौं शताब्दीपछि विश्व अर्थतन्त्र र परमाणु शक्तिसम्पन्न राष्ट्रका रुपमा एसियाका कतिपय देश अगाडि आइसकेका छन् । चीन, जापान, भारतजस्ता ठूला अर्थतन्त्र र परमाणु शक्ति भएका यसै महादेशभित्रका देशहरु हुन् । इरान, उत्तर कोरियाले पनि परमाणु शस्त्रमा विश्व परमाणु राजनीतिलाई टक्कर दिइरहेका छन् ।

विश्व कम्युनिस्ट आन्दोलन अन्य महादेशमा धरासायी भइरहेका बेला एसिया भने विश्व कम्युनिस्ट आन्दोलनको केन्द्र बनिरहेको छ । यही केन्द्रलार्ई ध्वस्त बनाउन, वैचारिक विचलनमा ल्याउन साम्राज्यवादी पश्चिमा शक्तिहरुले तथाकथित इसाई ‘ईश्वरीय’ आडमा ल्याएको ‘एसिया प्यासिफिक पिस समिट’ हो ।

यूपीएफ आयोजक रहेको यो सम्मेलनले कम्युनिस्ट नेताहरुलाई मात्र भ्रमित बनाएन, यसका अतिरिक्त दुई तिहाइको कम्युनिस्ट सरकारलार्ई ‘सह–आयोजक’, ‘सहयोगी’ र सहभागी बनाउन पनि सफल भयो ।

डिभाइन सिद्धान्त
इसाई धर्मको उद्गम मानिने युरोपबाट नै साम्यवादको शंखनाद भयो । माक्र्स–एंगेल्सले सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र जारी गर्नासाथ साम्यवादी विचारको प्रभाव युरोपलगायत एसिया, ल्याटिन अमेरिकामा पर्न थाल्यो । साम्यवादी आन्दोलनको यो बेगलाई रोक्न परम्परागत पुजाअर्चनामा रमाउने चर्चभित्रका पादरीबाट सम्भव थिएन । साम्यवादको यो अभियानलार्ई रोक्न इसाई मिसनलार्ई पुनर्संरचना गर्नु जरुरी भयो ।

दोस्रो विश्वयुद्धको अन्त्यपछि कम्युनिस्ट विरोधी शक्तिलाई एक ठाउँमा ल्याउन जरुरी थियो । त्यसका निम्ति उपयुक्त पात्र थिए मुन । मुन उत्तर कोरियाली क्रान्तिका विरुद्ध लागेकाले श्रम शिविरमा कैद थिए । उनैलाई अमेरिकी सेनाले उद्धार गरेर दक्षिण कोरिया पु¥यायो । इसाई धर्मको भाष्यमा केही सुधार गरेर अमेरिकी जासुसी एजेन्सी सीआईएले ‘डिभाइन सिद्धान्त’ उनको नाममा लेखेर छपायो । यो सिद्धान्तलार्ई लागू गर्न युनिफिकेसन चर्च मुनको संस्थापकत्वमा स्थापित भयो ।

साम्यवाद र भौतिकवादलाई नष्ट गर्न परम्परागत इसाई मिसन काफी नहुने योजनाका साथ आक्रामक इसाई मिसन गठन गर्नु थियो । त्यसै अभियानअन्तर्गत युनिफिकेसन चर्च र यसका भातृ संगठनहरु यूपीएफ, आईक्याप, आईपीपी आदि गठन हुँदै गए । डिभाइन सिद्धान्तको प्रस्तावनामा लेखिएको यो हरफले पनि अझै प्रस्ट पार्छ,– ‘इसाई धर्मले साम्यवाद वा भौतिकवादको सफलताको बराबरको क्षमता गुमायो र सत्यलार्ई प्रस्तुत गर्न असफल भयो, जुन उनीहरूको सिद्धान्त जित्न सक्थे ।

इसाईहरूले यी विचारधाराहरू सुनेका थिए र उनीहरूको बीचमा थोरै भए तापनि क्रिश्चियनहरूले अहिल्यै हेरेर संसारभरि आफ्नो प्रभाव विस्तार गरे ।’ अब कुनै भ्रममा रहन आवश्यक छैन । युनिफिकेसन चर्चसम्बद्ध युनिभर्सल पिस फाउण्डेसनले गरेका जुनसुकै सम्मेलन कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्ने मात्र होइन, फासीवादमा पतन गराउने कुरामा लक्षित छ । यो मिसनको काम इसाई धर्मको प्रचार गर्नुमात्र हो भन्ने बुझियो भने सो¥हैआना गलत हुनेछ ।

यसले धार्मिक आवरणमा भौतिकवाद र साम्यवादलाई जरैदेखि उखेल्ने राजनैतिक दर्शन मुताविकको रणनीति तयार गरेको छ । यूपीएफको यो मिसनले नेपालमा परम्परागत रुपमा आस्था र विश्वाससँगै इसाई धर्म ग्रहण गरेका समुदायलाई पनि अप्ठ्यारोमा पार्ने निश्चित छ ।

मिसनको लक्ष्य यतिमा मात्र पनि सीमित छैन, कट्टर हिन्दू धर्मावलम्बीलाई उत्तेजित बनाउने र हिन्दू–गैरहिन्दूबीचको धार्मिक अन्तरविरोधलाई चर्काएर विचारको लडाइँलाई सखाप पार्ने उद्देश्यसँग पनि केन्द्रित छ । यसो गर्दा विचारको आधारमा जनमत निर्माण गर्ने काम समाप्त हुन्छ, जतिबेला धार्मिक आधारमात्र बाँकी रहन्छ ।

साम्यवाद वा भौतिकवाद केही पनि बाँकी रहन्न । यस्तो गर्न कम्युनिस्ट पार्टीभित्रै ‘विभीषण’ जन्माउन समिट एक हदसम्म सफल भएको छ ।

कहाँबाट आउँछ सहयोग ?
यो संस्था कोरिया, जापानमा गएर थाल थापेर ल्याएको पैसाले वा लेवी उठाएरमात्र चलिरहेको होइन । आफ्ना अनुयायीहरुलाई देखाउन यूपीएफले यो काम गराएको थियो । तर यो भन्दा बढी कम्युनिस्ट विरोधी अभियान चलाउन अन्तर्राष्ट्रिय फाउण्डेसनले लाखौं डलर सहयोग गर्ने गरेको कुरा विद्युतीय अभिलेखमा पाइन्छ ।

चीनका कम्युनिस्ट विरोधी च्याङ काइ सेक (ताइवान), इण्डोनेसियाका तत्कालीन राष्ट्रपति सुकार्नो, कोरियाका संस्थापक राष्ट्रपति सेङमेन रे (१९४८–१९६०), जापानका धनाढ्य व्यापारी तथा तत्कालीन सांसद सासाकावा रोइचीले यसका लागि ठूलो धनराशी लगानी गरेका हुन् । यिनै सासाकावाले उनी सभापति रहेको निप्पोन फाउण्डेसन र सासाकावा पिस फाउण्डेसनमार्फत् लाखौं डलर मुनले स्थापना गरेको युनिफिकेसन चर्चलाई कम्युनिस्ट विरोधी अन्तर्राष्ट्रिय गतिविधि गर्न लगानी गरेका हुन् । यसका अतिरिक्त अमेरिकी जासुसी एजेन्सीले सहयोग उपलब्ध गराउने अर्को स्रोत यो चर्चको हो ।

कम्युनिस्ट विरोधी विश्व लीग
चिनियाँ क्रान्तिबाट विस्थापित भएका च्याङकाइ सेकले सन् १९६६ (ताइवान) मा कम्युनिस्ट विरोधी राजनीतिज्ञ र समूहहरु सम्मिलित गैरसरकारी संस्था ‘वल्र्ड एण्टी कम्युनिस्ट लिग’ गठन गरेका थिए । चीनका भगौडा शासक सेक यसको नेतृत्वमा थिए । यो संगठनमा नाजी, जापानी र कोरियाका युद्ध अपराधीहरु थिए ।

कम्युनिस्ट विरोधी उग्र दक्षिणपन्थीहरुले एसियाका धेरै स्थानमा प्रतिक्रान्तिको कार्वाही पनि गरेको थियो । सासाकावा यो संगठनको सक्रिय सदस्य थिए । सीआईएको प्रत्यक्ष संलग्नतामा रहेको यो संगठनले नै पछि विन लादेनको जन्म गराएको हो । मुन र मुनको युनिफिकेसन चर्च यसैको एक सदस्य हो ।

को हुन् सासाकावा ?
सासाकावा ‘वल्र्ड एण्टी कम्युनिस्ट लीग’का संस्थापक थिए । उनी दोस्रो विश्व युद्धताका जापानी संसदका सदस्य हुन् । उनले आफ्नै एयर डिफेन्स स्क्वाड गठन गरेका थिए । युद्धकै दौरानमा उनले अर्बौं कमाएका थिए । संदिग्ध युद्ध अपराधीको रुपमा जापानमा सजायँ पनि पाएका थिए । उनले युद्धका समयमा लखनौ लूट गरेर प्रशस्त धन जम्मा गरेका थिए । उनी जापानका एक नामुद ब्ल्याकमेलर र डकैती गरेर सम्पत्ति हासिल गर्ने शिकारी हुन् । यतिसम्म कि उनले रेल, बीमा कम्पनीमा डकैत गर्दथे ।

जुवा अखडामा उनकै स्वामित्व थियो । उनले ‘प्याट्रोटिक पिपुल्स पार्टी’ नामको दक्षिणपन्थी पार्टी खोलेका थिए । एक पटक यो पार्टीका सबै नेता युद्ध अपराधमा पक्राउ पनि परे । उनले आफ्नो बायोग्राफीमा आफ्नै हवाइ जहाज लिएर इटलीको रोममा मुसोलिनीलाई भेट्न गएको दावी गरेका थिए । मुन र युनिफिकेसन चर्चलाई कम्युनिस्ट विरोधी गतिविधिका लागि उनी लुटेको धनले सहयोग गर्थे । यिनी सासाकावा पिस फाउण्डेसन, निप्पोन फाउण्डेसनका सभापति थिए ।

यिनै दुई फाउण्डेसनमार्फत् उनले युनिफिकेसन चर्चलाई कम्युनिस्ट विरोधी गतिविधि गर्न लगानी गर्दथे । संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ्य संगठनलाई ठूलो धनराशी सहयोग गरेर प्रभावमा पारेका थिए । उनी संसारकै धनी फासीवादी हुँ भनेर सगौरव घोषणा गर्दथे र कम्युनिस्ट विरोधी गतिविधि गर्ने जोकोहीलाई सहयोग गर्दथे । यिनको मृत्यु १९९५ मा ९६ वर्षको उमेरमा भयो ।

सासाकावा रोइची
रुपमा हेर्दा नेपालको शान्ति स्थापनार्थ, धर्म रुपान्तरणको क्रममा आएको, होली वाइन पिलाएर आध्यात्मिक शान्ति दिलाउनका लागि आएको रुपमा यो सम्मेलनलाई बुझियो भने महाभूल हुनेछ । यो सम्मेलनले नेपालको आन्तरिक जनसमीकरणलाई मात्र भत्काउने प्रयत्न गरेको छैन, यसका अतिरिक्त दुई छिमेकीबीचको नेपालको सम्बन्धलाई पनि औंशा पारेको छ ।

प्रतिक्रिया दिनुहोस्