काठमाडौं, १८ जेठ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले राजसंस्था पक्षधरको आन्दोलनलाई लक्षित गर्दै कोटेश्वर, बल्खु र सिफललाई निषेधित क्षेत्र घोषणा गरेको छ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आइतबार बेलुका सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका हुन्।
ती क्षेत्रमा जेठ १९ गतेदेखि बढीमा दुई महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।
यसअघि प्रशासनले नारायणहिटी आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।