Logo

अरुण तेस्रो जलविद्युत् आयोजनाका पीडितलाई १६ वर्षपछि मुआब्जा वितरण



सङ्खुवासभा, ३० माघ ।  सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग (छ्याङ्कुटी–दिदिङ) सडक खण्डको जग्गाको मुआब्जा वितरण गर्न थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार छ्याङकुटी–दिदिङ सडक खण्डको (२४ दशमलव ५ किलोमिटर) अन्तर्गत चार सय ५४ रोपनी जग्गाको मुआब्जा वितरण थालिएको हो ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जावापतको रकम अहिलेसम्म चार करोड ८८ लाख रुपैयाँ पीडितको खातामा भुक्तानी भइसकेको प्रजिअ खड्काले बताउनुभयो ।

खाँदबारी नगरपालिका–४, छ्याङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडक खण्डको पीडितले छुट मुआब्जाको माग गर्दै आएका थिए ।

वि.सं.२०८० वैशाख २६ गते छ्याङ्कुटी–दिदिङ सडक खण्डको छुट मुआब्जा प्रमुख जिल्ला अधिकारी संयोजक भएको मुआब्जा निर्धारण समितिले प्रति रोपनी ११ लाख ७५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो ।

अरुण तेस्रो परियोजनाले व्यावसायिक उत्पादन गर्न थालेको एक वर्षभित्र स्थानीयलाई सेयर दिने उल्लेख  छ ।

प्रतिक्रिया दिनुहोस्