झापा, २३ फागुन । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले जनतालाई खुसी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरू प्रदर्शनमा उत्रिएको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार झापाको बिर्तामोडमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले ‘राजा फर्काउनुपर्छ भन्नेकुरा नेपालमा मात्र नभइ फ्रान्स लगायतका देशहरूमा पनि हुने गरेको’ बताउनुभयो ।
साथै, उहाले नागरिकहरू असन्तुष्ट हुँदा प्रदर्शन भइरहेको, गणतन्त्रले जनतामा आशा, भरोसा जगाउन सक्यो कि सकेन भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो।
‘अरुले पूर्वराजा भन्छन् म राजा नै भन्छु । किनभने कार्यकारी भइसकेको व्यक्तिलाई पूर्व भन्ने चलन बाहिर छैन, नेपालमा मात्रै छ । राजाको कुरा हेर्दा हरेक देशमा चलिरहेको हुन्छ,’ कोइरालाले भन्नुभयो, ‘आज पनि फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ । चिया पसलमा राजा फर्काउनुपर्छ भन्ने गफ हुन्छ । यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको हुन्छ ।’