Logo

आइपिएल: कोलकात्तामाथि लखनउको रोमाञ्चक जित



काठमाडौं, २६ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार भएको दिनको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाइ उसकै मैदानमा पराजित गरेको छ।

हाई स्कोरिङ खेलमा कोलकातामाथि लखनउले ४ रनको रोमाञ्चक जित निकाल्यो। यसअघि घरेलु मैदानमा कोलकाता रोयल च्यालेन्जर्स बैंगलोरसँग ७ विकेटले हारेको थियो।

इडन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङ गर्दै लखनउले कोलकातालाई जितका लागि २ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो।

कोलकाताका लागि रिंकु सिंह १५ बलमा ३८ रन बनाएर अविजित रहँदा कप्तान आजिंक्य रहाणेले ३५ बलमा ६१ रन बनाएका थिए। त्यस्तै, वेंकटेस अय्यरले ४५ रन बनाउँदा क्विन्टन डिककले १५ रन बनाएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रनको उच्च स्कोर बनाएको थियो। उसका लागि मिचेल मार्सले ८१ रन बनाउँदा एइडन माक्रमले ४७ रन बनाए।

त्यस्तै, निकोलस पुरनले ३६ बलमा ७ चौका र ८ छक्काको सहयोगमा ८७ रनको विष्फोटक अविजित इनिङ्स खेले।

जितपछि लखनउले ५ खेलबाट ३ जितसहित ६ अङ्क बनाएर चौंथो स्थानमा रहेको छ। त्यस्तै, पराजित कोलकाता ५ खेलबाट ४ अङ्कका साथ छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्