काठमाडौं, २ जेठ । सगरमाथा संवाद शुक्रबारदेखि सुरु हुँदै छ । नेपाल सरकारले सगरमाथा संवादलाई अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यसहित यसै वर्षदेखि यो कार्यक्रम सुरु गर्न लागेको हो । सगरमाथा संवादको पहिलो ‘संस्करण जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा आयोजना हुँदै छ । सगरमाथा संवाद हरेक दुई वर्षमा फरक मुद्दाका उठानसहित सञ्चालन गरिने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
संवादको पहिलो संस्करणमा जलवायु परिवर्तन सम्बद्ध विषय उठान गरे जस्तै अन्य संस्करणमा ज्वलन्त वैश्विक मुद्दालाई बहसमा ल्याउने प्रयत्न गरिने छ । जसमा विश्व शान्ति प्रव्रिmया, समावेशी लोकतन्त्र, महिला सशक्तीकरण र समाजका सीमान्तकृत वर्गको उत्थानलगायतका विषयमा नेपालका सफलताका कथासँगै आवश्यक मार्गदर्शनमा सगरमाथा संवाद सहायक हुने विश्वास गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादका विषयमा दिनु भएको वक्तव्य अनुसार सगरमाथा संवाद एक बहुपक्षीय संवाद मञ्च हो जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महŒवका प्रमुख मुद्दामा छलफल गर्न प्रतिबद्ध छ । विश्वव्यापी मञ्चका रूपमा सगरमाथा संवादले सकारात्मक परिवर्तनको भूमिका खेल्ने छ ।
सगरमाथा संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको छ जुन मित्रताको प्रतीकसँगै मानवताको साझा भलाइ र सामूहिक कल्याणको धारणालाई प्रवर्धन गर्न युगौँदेखि तल्लीन छ । उहाँका अनुसार पृथ्वीको सबैभन्दा अग्लो प्राकृतिक स्थलचिह्न भएकाले सगरमाथा विश्वव्यापी घटना नियाल्ने सबैभन्दा अग्लो साक्षी पनि हो । सगरमाथा संवादको स्टेयरिङ कमिटीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले यसको घोषणाका समयमा विश्व सभ्यताको उद्गमस्थल मानिने सगरमाथा र यी जस्तै अग्ला हिमालको संरक्षणमा सिङ्गो विश्वलाई जिम्मेवार बनाउने उद्देश्यले हिमालको आवाज बलियो बनाउन यस पहिलो संस्करणले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
संवादको व्यवस्थापन समितिका अध्यक्ष तथा परराष्ट्रमन्त्री डा. आरजु राणाका अनुसार आजको अन्तरसम्बन्धित संसारमा, समसामयिक मुद्दालाई सम्बोधन गर्न र अगाडि बढ्ने बाटोमा सहमतिमा पुग्न संवादले सघाउने छ ।
उहाँले सगरमाथा यस संस्करणका बारेमा जानकारी दिन आयोजित विभिन्न पत्रकार सम्मेलनमा जलवायु परिवर्तनले नेपालमा पारेको असर र नेपालले नगरेको गल्तीको सजाय पाइरहेकाले जलवायु न्यायका लागि आफ्नो धारणा बलियो बनाउन टेवा पु-याउने प्रस्ट पार्दै आउनुभएको छ ।
सम्पूर्ण तयारी पूरा
सगरमाथा संवादको पहिलो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । सगरमाथा संवादका लागि भौतिक, आर्थिक, व्यवस्थापन तथा वस्तुगत सबै खालका तयारी पूरा भएको प्रधानमन्त्री कार्यालयका सचिव तथा व्यवस्थापन समितिका सदस्य राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सरकारकै प्रतिष्ठाको विषय भएकाले हामी सबै लागि परेका छौँ, विशिष्ट पाहुना धेरै जसो बिहीबार आइसक्नुभयो, केही आइपुग्ने क्रममा हुनुहुन्छ, समग्रमा सबै तयारी पूरा भएको छ ।”
उहाँका अनुसार सगरमाथा संवाद सचिवालयका पदाधिकारी एक महिनादेखि कामको चापाचापमा छन् । मुख्य आकर्षणका रूपमा रहेको सगरमाथा संवादको समुद्घाटन समारोहलाई भव्य र सभ्य बनाउन उद्घाटनस्थलमा केही दिनअघिदेखि नै टोली खटिएको छ ।
काठमाडौँको सोल्टीमोडस्थित होटेल सोल्टीमा आयोजना हुने समुद्घाटन समारोहको प्रधानमन्त्री ओली आफैँले उद्घाटन गर्नुहुने तय भएको छ । विदेशी उच्च अतिथिबाट उद्घाटन गराउने भनिए पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका शीर्षस्थ नेतृत्वको समय नमिलेपछि उहाँ आफैँले उद्घाटन गर्नुहुने भएको हो । समुद्घाटन स्थललाई झकिझकाउ पारेर सिँगारिएको छ । सडकद्वारसँगै तुल, ब्यानरसहितको नेपालको राष्ट्रिय झन्डा फहराइएको छ । उद्घाटन समारोहको पनि सबै तयारी पूरा भएको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार विभिन्न १२ मुलुकका विशिष्ट पाहुनाको सगरमाथा संवादकै क्रममा एकैसाथ भ्रमण हुँदै छ । सबै कूटनीतिक पाहुनाको स्वागत सत्कार, सुरक्षा, खानपान र बासको व्यवस्थापनमा मन्त्रालयले विशेष ध्यान दिएको छ ।
जेठ ४ गतेसम्म चल्ने सगरमाथा संवादको पहिलो संस्करणमा उद्घाटनलगत्तै उच्चस्तरीय प्रमुख सत्रपछि समानान्तर सत्र सञ्चालन हुने छन् । विशिष्ट अतिथिलाई हिमालयको मनोरम दृश्यावलोकन तथा जलवायु परिवर्तनले ल्याएका चुनौतीका बारेमा अवगत गराउँदै अन्तिम दिन काठमाडौँ घोषणापत्र जारी गरेसँगै समापन हुने छ । उक्त घोषणापत्र ब्राजिलमा आयोजना हुने आगामी कोप–३० मा नेपालका हिमाल संरक्षणका लागि बलियो पहल हुने विश्वास नेपाल सरकारले लिएको छ ।