काठमाडौँ, १० भदौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने यो पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै छ।
सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रूपमा मनाउने गर्छन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्रीसमेत भनिन्छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौँ अवतारको रूपमा भगवान् श्रीकृष्णले जन्म लिएको मानिन्छ ।
कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाँही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ।
जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । भारतमासमेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन् ।
श्रीकृष्ण जन्माष्टमी पर्व मनाउनेले बिहान सबेरै नुहाइधुवाइ गरेर व्रत बस्छन्। दिनभर जल वा फलफूल मात्र खाएर पूर्ण रूपमा सात्विक बस्छन्। मध्यरातमा श्रीकृष्णको धातुको प्रतिमालाई पञ्चामृतले स्नान गराइदिन्छन्।
यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। शोभायात्रा आज मध्यरातमा श्रीकृष्णको जन्म भएपछि मङ्गलबार निकाल्ने गरिन्छ। यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।