Logo

आज २०८१ साल मंसिर २१ गते शुक्रवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आँटले काम लिन नसक्दा केही पछि परिनेछ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। तर आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्। श्रम परे पनि चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सामान्य काममा धन र श्रम खर्चनुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रम गर्दा न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन नसकिएला। प्रतिस्पर्धामा आफ्नाे उपलब्धि कमजाेर रहला। काम राेकिनाले दाेहाेर्याएर प्रयत्न गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले सताउन सक्छन्।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

परिस्थिति अनुकूल देखिए पनि नजिकका व्यक्तिबाट आँटेको काममा बाधा पुग्नेछ। शुभचिन्तकहरूले गलत कदम उठाउनबाट जोगाउने चेष्टा गर्न सक्छन्। अरूको हस्तक्षेपले कालान्तरमा आफैंलाई फाइदा पुग्नेछ। प्रयत्न गर्दा बिस्तारै चिताएका काम पनि सम्पादन हुनेछन्।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढे पनि नयाँ सम्झौता हुन सक्छ। स्थायी सम्पत्तिमा देखिएको विवाद सुल्झाउन सकिनेछ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। लेनदेनमा होसियार रहनुहोला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले समस्या निम्त्याउन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन् र दिगो काम थाल्ने समय छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने हुन सक्छ। खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसर खोज्न लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दिन उत्साहवर्द्धक रहनेछ। आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा पनि राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्