ईलाम, १८ साउन । इलाममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुईजना घाइते भएका छन् ।
माई नगरपालिका २ गरुवा पुलस्थित बिर्तामोड–महमाई भित्री सडकखण्डमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो भने अन्य दुईजना घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकलको बीचमा सवार माई नगरपालिका १० गजेनी भञ्ज्याङ बस्ने वर्ष अन्दाजी २६ का दिनेश कार्कीको मृत्यु भएको हो । उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मोटरसाइकल चालक माई नगरपालिका १० गजेनी भञ्ज्याङ बस्ने वर्ष ३२ का बिनोद लिम्बू र सोही ठाउँ बस्ने वर्ष १६ का रोशन लिम्बू घाइते भएका छन् । । ती दुवै घाइतेको बिर्तासिटी हस्पिटलमै उपचार भइरहेको छ ।
गरुवा पुलस्थित बिर्तामोड–महमाई भित्री सडकखण्डमा शुक्रबारेबाट सितलीतर्फ जाँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलमा ठक्कर खाई दुर्घटना भएको हो । मोटरसाइकल प्रहरी चौकी दानाबारीले नियन्त्रणमा लिएको छ ।