Logo

कपिलवस्तुको शुद्धोधनमा ग्यास विस्फोटः दिदीभाइको ज्यान गयो



रुपन्देही, १२ जेठ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५, जयनगरमा ग्यास लिक भएर आगलागीमा परी एकै परिवारका दिदीभाइको मृत्यु भएको छ।

जेठ ११ गते पर्शुराम यादवको घरमा खाना पकाउने क्रममा ग्यास रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएर आगलागी भएको हो। सो आगलागीमा परी यादवका २४ वर्षीय छोरा शिवकुमार यादव र १८ वर्षीया छोरी सोनम यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिनुभयो।

घटनाको प्रारम्भिक अनुसन्धान अनुसार घरको भान्सामा ग्यास रेगुलेटर जडान गर्दा ग्यास लिक भएको थियो। सोही बेला गोठमा बलिरहेको आगोले ग्यास समातेर ठूलो आगलागी भएको बताइएको छ। आगलागीपछि इलाका प्रहरी कार्यालय हथिहवा दोहनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको थियो। प्रारम्भिक उपचारपछि दुवैलाई भैरहवास्थित मेडिकल कलेज लगिएको थियो। त्यहाँबाट शिवकुमारलाई थप उपचारका लागि भारतको गोरखपुरस्थित मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो। सोनमको मृत्यु भैरहवामा नै भएको बताइएको छ।

मृतक सोनम यादव नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मुरफुटवामा कक्षा १० मा अध्ययनरत थिइन्। विद्यालयका प्रधानाध्यापक लालचन्द्र पाण्डेका अनुसार घटनापछि विद्यालयले शोक व्यक्त गर्दै सोही दिन बिदा दिएको छ।

प्रतिक्रिया दिनुहोस्