धनगढी, साउन २० गते । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेश गर्नुभएको छ ।
उहाँले कांग्रेस र नेकपा ९एमाले० का प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गर्नु भएको हो । शाहको पक्षमा कांग्रेसको १८ र एमालेको ११ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्री दावी गर्न २७ जनाको समर्थन आवश्यक पर्नेमा उहाँलाई २९ जनाको समर्थन छ ।
आज साँझ ५ बजेपछि उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गरिने छ । शाह प्रदेश सभाको यही कार्यकालमा दुई पटक मुख्यमन्त्री बन्नु हुने भएको छ । यसअघि उहाँले १४ महिना सरकार चलाउनु भएको थियो । उहाँ सुदूरपश्चिमको पाँचौ मुख्यमन्त्री हुँदै हुनुहुन्छ ।
नेकपा ९एकीकृत समाजवादी० का दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएपछि उहाँ नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री हुनु हुने भएको छ । प्रदेश प्रमुख मियाँले आज आइतबार साँझ ५ बजेसम्मको समयसम्म मुख्यमन्त्रीमा दावेदारी गर्न समयसीमा दिनु भएको थियो ।