काठमाडौँ, १२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले विकल्प खोज्ने बेला आएको बताउनुभएको छ ।
काठमाडौंको कीर्तिपुरमा राप्रपाले आयोजना गरेको कोणसभालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले बन्धकबाट मुक्त र त्यसका लागि एक पटक मन परिवर्तन गर्न आग्रह गर्नुभएको हो।
एकपटक मन परिवर्तन गरेर राप्रपा उम्मेदवारलाई मतदान गर्न उहाको आग्रह छ। राप्रपाले नयाँ विकल्पका साथ आफूलाई उभ्याएको उहाको दाबी थियो।
उहाले भन्नुभयो, ‘यो पटक मन त मत परिवर्तन गरौं, राप्रपाले यो देशमा आफूलाई नयाँ विकल्पको साथ अगाडि उभ्याएको छ। प्रष्ट दृष्टिकोणका साथ अघि बढेको छ। यो पार्टीलाई मतदान गरेर देश बचाउने र बनाउने अभियानमा सहयोग गर्न अपिल गर्छौँ।’
उहाले कीर्तिपुरबाट देश कस्तो बनाउने भन्ने उदाहरण पेश गर्न चाहेको बताउनुभयो। राप्रपाले जितेको स्थानीय तहमा कस्तो काम गर्छ भन्ने हेर्नको लागि झापाको हल्दिबारी गाउँपालिकामा जान आग्रह गर्नुभयो।
कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। कीर्तिपुरमा राप्रपाबाट ध्रुव महर्जन उम्मेदवार छन्।