Logo

काठमाडौं प्रहरीले बुझायो स्वर्णलक्ष्मी सहकारीको अनुसन्धान प्रतिवेदन, रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस



काठमाडौं, १८ पुस । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिनामा प्रहरीले अनुसन्धान पूरा गरी रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले बिहीबार जिल्ला सरकारी वकिल, कार्यालय काठमाडौंमा प्रतिवेदन पेस गरेको हो।

प्रहरीले सो सहकारीमा एक अर्ब १८ करोड हिनामिना भएको भन्दै ४४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । प्रहरी स्रोतका अनुसार रवि लामिछानेलाई समेत प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले स्वर्णलक्ष्मी सहकारीको ठगीसम्बन्धी अनुसन्धान प्रतिवेदन आएको पुष्टि गरेको छ ।

ऋण उपसमिति सदस्य कमल लामा र लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो । संगठित अपराध मुद्दामा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । सुनितालाई प्रहरीले गत २० कात्तिकमा पक्राउ गरेकाले २० पुसभित्र मुद्दा अदालतमा दर्ता गर्नुपर्ने हुन्छ । सरकारी वकिल कार्यालयका अनुसार आइतबार मुद्दा दायर हुने सम्भवना छ ।

बचतकर्ताहरूले एक अर्ब १८ करोड रुपैयाँ ठगी भएको भनेर जाहेरी दिएका छन् । प्रहरीले स्वर्णलक्ष्मी सहकारीको ठगीमा ४४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ । जसमा पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीसमेत छन् । हाल कास्की प्रहरीको हिरासतमा रहेका उनीहरूविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर हुन लागेको हो । करिब एक महिनाअघि पोखराबाट ल्याएर उनीहरूको प्रहरीले काठमाडौंमा बयान लिएको थियो ।

स्वर्णलक्ष्मी सहकारीबाट पनि गोर्खा मिडियामा गैरकानुनी रूपमा पैसा गएको थियो । सो पैसा खर्च गर्ने भूमिकामा लामिछानेसमेत रहेको भन्दै उनलाई पनि प्रतिवादी बनाउन लागिएको छ । रास्वपाले भने सहकारी ठगीमा संलग्न नभए पनि गोर्खा मिडियाको तत्कालीन सञ्चालक भएकै आधारमा सहकारी ठगीको मुद्दा चलाउनु राजनीतिक प्रतिशोध भएको आरोप लगाउँदै आएको छ ।

काठमाडौंमा पनि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणे कसुरसमेत लगाउन सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्