Logo

केआईआईटी कलेजमा प्रिशा मृत्यु प्रकरण : भारतसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन रूलिङ



काठमाडौं, २२ बैशाख ।प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको विषयमा छानविन गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।

सभामुख घिमिरेले अध्ययनका लागि बिदेसिएका विद्यार्थीहरूको एकपछि अर्को घटनाले राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको विषय भएको भन्दै सरकारलाई यस घटनाको सत्यतथ्य पत्तालगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई न्यायिक सहयोग गर्न सरकारलाई निर्देशन दिनुभएको हो ।

बैठकको आकस्मिक समयमा सांसदहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको विषयमा निष्पक्ष छानविन गर्न माग गर्नुभयो ।

सांसदहरु देवेन्द्र पौडेल, डा. अमरेशकुमार सिंह, रामकृष्ण यादव, निर्मला कोइराला,  लगायतका सांसदले प्रिसा साह र केही समयम अघि मात्रै प्रकृति लम्सालको भारतको किट विश्वविद्यालयमा भएको घटना सामान्य नभएको भन्दै निष्पक्ष छानविन गर्न माग गर्नुभयो ।

सांसदहरु लालविर चौधरी र महन्थ ठाकुरले पूर्व सांसद रेशम चौधरीलाई अपहरण शैलीमा पक्राउ गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै फर्जी पुर्जी काटिएको हो वा होइन भन्ने विषयमा स्पष्ट पार्न माग गर्नुभयो ।

बैठकमा सांसद सिताकुमारी लामाले दैलेखमा चट्याङबाट नागरिकलाई सुरक्षित गराउन पूर्व सङ्केतको व्यवस्था गर्न र सांसद विन्दवासिनी कंशारले हेटौडा उपमहानगर पालिका गैरी गाउँमा माछा बोक्ने गाडी भासिएर हराएको र पानी भरिएपछि गाडी नभेटिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जमिनको अवस्था अध्ययन गरी घटना दोहोरिन नदिन माग गर्नुभयो ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्