काठमाडौं, ९ वैशाख । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीसँगै युवा टोलीलाई पनि चार समूहमा विभाजन गरेर अभ्यास खेल खेलाउने भएको छ।
आगामी शनिबारदेखि मुलपानीका दुवै मैदानमा एकसाथ हुने खेलका लागि चार वटा टोली बनाइएको छ।
नेपाल ब्ल्यु, नेपाल ग्रिन, नेपाल रेड र नेपाल एल्लो नाम रहनेछन्। टोलीको कप्तान पनि तय भइसकेको छ।
नेपाल ब्ल्युको कप्तानी राष्ट्रिय टोलीकै कप्तान रोहित पौडेलले गर्नेछन्। ग्रिनको कप्तान ओपनर आसिफ शेख, नेपाल रेडको सन्दीप लामिछाने र एल्लोको कप्तान दीपेन्द्र सिंह ऐरी रहनेछन्।
हरेक टिममा १३ खेलाडी राखिएको छ। टोलीमा केही दिन पहिले यू–१९ विश्वकप छनोट खेलेका खेलाडीलाई पनि समेटिएको छ।
क्यानको सम्झौतामा रहेकासँगै सम्झौता बाहिर रहेकाा खेलाडीलाई पनि टोलीमा सामेल गरिएको छ। हरेक टोलीबिच दुई दुई खेल हुनेछ।
शनिबार पहिलो दिन रोहितको टोलीले आसिफको टोलीसँग माथिल्लो मुलपानी मैदानमा भिड्दा सन्दीप र दिपेन्द्र तल्लो मैदानमा आमनेसामने हुनेछन्।
आइतबार ब्लयु र एल्लो तथा रेड र ग्रिन भिड्नेछन्।
मंगलबार रेड र एल्लो, ब्लयु र ग्रिन भिड्ने क्यानले जनाएको छ। बुधबार एल्लो र ग्रिन तथा ब्ल्यु र रेडबिच खेल हुनेछ।
शुक्रबार ग्रिन र रेड तथा एल्लो र ब्लयु भिड्नेछन्। शनिबार अन्तिम चरणका खेल हुनेछन्। अन्तिम चरणमा ग्रिन र ब्ल्युसँग खेल्दा एल्लो र रेड भिड्ने क्यानले जनाएको छ।
कुन टिममा को को ?
टिम ब्लु– कप्तान रोहित पौडेल
प्रज्वल थापा, देव खनाल, अनिल कुमार साह, शाकिव हक, सूर्य तामाङ, सन्दीप जोरा, कुशल मल्ल, गुल्शन झा, हेमन्त धामी, करण केसी, दिपेश कंडेल र युवराज खत्री।
टिम ग्रिन–कप्तान आसिफ शेख
सोमपाल कामी, ईशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, दिलिप नाथ, विवेक यादव, पवन सर्राफ, रिजन ढकाल, शेर मल्ल, रासिद खान र सन्तोष यादव।
टिम रेड– कप्तान सन्दीप लामिछाने
अर्जुन साउद, त्रितराज दास, भीम सार्की, शुभ कंसाकार, शाहव आलम, बसिर अहमद, आरिफ शेख, लोकेश बम, नन्दन यादव, आकाश चन्द, प्रतिस जिसी र नरेन भट्ट।
टिम एल्लो–कप्तान दीपेन्द्र सिंह ऐरी
विनोद भण्डारी, मयन यादव, कुशल भुर्तेल, सुजन थपलिया, ललित नारायण राजवंशी, अर्जुन घर्ती, किरन ठगुन्ना, अविनाश बोहरा, रुपेश कुमार सिंह, कमल सिंह ऐरी, विशाल पटेल र दीपेन्द्र रावत।