Logo

क्रिश्चियन धर्म प्रचार गर्ने २ विदेशीसहित ५ जना पक्राउ



दाङ, ११ बैशाख । विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा दाङको घोराहीबाट दुई विदेशीसहित पाँच जना पक्राउ परेका छन् । मंगलबार घोराहीको होटेल डोकोबाट एक अमेरिकी, एक भारतीय र तीन नेपाली पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका साथै क्रिश्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले रहेका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार उनीहरुको साथबाट बा १३ प ३१९६ स्कर्पियो गाडी, कार्टुनभरी बाइबल, रकम राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभ लगाएतका सामग्री बरामद गरिएको छ । गाउँ(गाँउमा पुगेर धर्म प्रचार गर्ने र मानिसहरुलाई आर्थिक तथा उपचारको प्रलोभन देखाउँदै धर्म परिवर्तन गराउने गरेको समेत पाण्डेले बताए ।

पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरित धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्