काठमाडौं, २७ साउन । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ।
हिजो साँझ भैँसेपाटीस्थित डेरामा अचेत अवस्थामा फेला परेका उनलाई तत्काल पाटन अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।
उनको शव आइतबार बिहान ८ बजे सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रद्धान्जलीका लागि राखिने संगीकार चेतन सापकोटाले जानकारी दिनुुभयो ।
तिमिल्सिनाको अन्तिम संस्कार पनि आइतबार नै पशुपति आर्यघाटमा गरिने बताइएको छ।
दृष्टिबिहिन नेपाली गायकको रूपमा स्थापित तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका कलाकार थिए ।
उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीत चर्चित छन् ।