Logo

झापाको अर्जुनधारामा बालिकामाथि सामूहिक बलात्कार, चार जना प्रहरीको नियन्त्रणमा



झापा, ८ भदौ ।  झापाको अर्जुनधारामा एक बालिका सामूहिक बलात्कारको शिकार भएकी छन् । अर्जुनधारा–५ की ती १६ वर्षीया बालिका  माथि गएराति चार जना युवाले सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका ७ का सुनिल राजवंशी, केशवकुमार मगर, सरोज राई र अनीश लिम्बुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरूलाई शनिबार बिहान घरबाटै पक्राउ गरिएको हो । घटनामा संलग्न थप तीन जनाको खोजी भइरहेको जनाइएको छ ।

पीडित परिवारका अनुसार पिडकमध्येका दुई जनाले शुक्रबार अपराह्न ती बालिकालाई घुम्न जाने भन्दै घरबाट लगेका थिए । त्यसपछि उनीहरूले अर्जुनधाराकै एक होटेलमा पुर्‍याएर सामूहिक बलात्कार गरेका थिए । त्यहाँ उनका अरू दुईजना साथीहरू पनि थिए ।

उनीहरू चार जनालेनै रातभर युवतीमाथि बलात्कार गरेको प्रहरीसँगको बयानमा पीडितले बताएकी छन् । घटनापछि बिहान पिडकमध्येका सुनिल राजवंशीले पीडित युवतीलाई मोटरसाइकलमा पीडितको घर पुर्याएका थिए ।

राजवंशीले अर्जुनधारा–७ को वडा कार्यालयमा बसिरहेको भेटेपछि पुर्याउन आएको बताएका थिए । तर, युवतीले उनी पनि घटनामा संलग्न रहेको बयान दिएपछि प्रहरीले राजवंशीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्