झापा, ५ चैत्र । झापाको गरामनी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचनमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले प्यानल नै जितेको छ ।
४० जना विद्यार्थीमध्ये २० जना उम्मेद्वार बनेकोमा ३७ जनाले मतदानमा भाग लिएका थिए।अन्तिम मत परिणाम अनुसार राप्रविसंका केशव खरेल २३ मत ल्याउँदै सभापतिमा निर्वाचित भएका छन्।उहाँका प्रतिस्पर्धी अनेरास्ववियुकी बिमला गिरीले ६ र नेपाल विद्यार्थी संघका रोनिश पाठकले मात्र ८ मत पाउनुभएको छ ।
त्यस्तै सचिवमा राप्रविसंकै सन्दिप अधिकारी २१ मत ल्याएर निर्वाचित हुँदा अनेरास्ववियुकी सुनिता संग्रौलाले ६ र नेविसंघकी सन्जिला कार्कीले मात्र १० मत प्राप्त गर्नुभएको छ।
त्यस्तै कोषाध्यक्षमा पनि राप्रविसंकै रामकृष्ण पौडेल १९ मतसहित निर्वाचित हुनुभएको छ। सोही पदमा उम्मेद्वारी दिएका अनेरास्ववियूकी अञ्जली मुर्मू ८ र नेविसंघकी खुश्बु खातुनले ९ मत पाएका छन् ।
जिल्लाभरिकै थोरै विद्यार्थी भएर पनि सर्वसम्मत हुन नसकेपछि आधा विद्यार्थी उम्मेद्वार बनेका थिए । स्ववियू चुनाव जित्न नेकपा एमाले , नेपाली कांग्रेस र राप्रपाका नेताहरु दिलोज्यान दिएर लागेका थिए ।