Logo

झापाबाट दुर्गा प्रसाईंका दुईजना समर्थक पक्राउ



 

झापा, ६ असोज । बीएण्डसी हस्पिटलका सञ्चालक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि उपद्रो गर्न सक्ने भन्दै दुई जनालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल ९पीडीएफ० का मेची अञ्चल संयोजक दुरेन राई छन् ।

आइतबार साँझ बिर्तामोड –३, बिर्ताबजारस्थित निजी निवासबाट मैनालीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो ।

उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी प्रकाश विष्टले बताउनुभयो ।

त्यस्तै कमल ४, सीतापुरीस्थित निजी निवासबाट दुरेन राईलाई इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक निशान थापाको कमान्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय दमकमा प्रहरी निगरानीमा राखिएको छ । प्रसाईं पक्राउपछि झापामा अराजक गतिविधि हुनसक्ने भन्दै सुरक्षाकर्मीहरूलाई सतर्क राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाकी निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्