Logo

झापामा ठुलो परिमाणमा ब्राउन सुगरसहित दुई जना पक्राउ



झापा, १७ फागुन । झापाको भद्रपुरमा ठुलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ जिल्ला भानु नगरपालिका- १२ कवाजित निवासी २४ बर्षीय सुदिप बिक र सुनसरी जिल्ला रामधुनी नगरपालिका- ३ सिंघिया निवासी २७ वर्षीय हिरालाल बिक रहेको जनाइएको छ ।

सशस्त्रले उनीहरूको साथबाट प्लास्टिकसहित ३०१ ग्राम ब्राउन सुगर बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर मातहत रहेको बिओपी महेशपुरको टोलीले शुक्रबार साँझ भारतबाट बा ९० प १६७५ नम्बरको स्कुटर चढेर नेपाल आउँदै गरेका उनीहरूलाई भद्रपुर- ३ मेचिपारिस्थित झोलुङ्गे पुलमा शङ्का लागेर चेकजाँच गरेका थिए । सशस्त्रले उनीहरूको शरीर खनतलासीसँगै स्कुटर पनि चेकजाँच गरेका थिए ।

स्कुटरको ब्याट्री रहने बक्स भित्र लुकाइछपाई राखिएको तीन वटा पोकामा २९८ ग्राम र एउटा पोकामा ३ ग्राम ब्राउन सुगर फेला परेको थियो । उनीहरूले ब्राउन सुगर भारतीय सीमावर्ती बजारबाट खरिद गरी ल्याएको र काठमाडौँ पठाउन खोजेका थिए ।

सशस्त्रले दुवै जनालाई ब्राउन सुगर, नगद १६ हजार ४१० रुपैयाँ, दुई थान मोबाइल र स्कुटरसहित आवश्यक कारबाही लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्