झापा, १५ असोज । झापाको कमल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एक जना घाइते भएका छन् ।
कमल गाउँपालिका ५ मंगलबारेस्थित भित्री सडकखण्डमा हिजो साझ ग्वालडुब्बाबाट दमकतर्फ आउने क्रममा मे ८ प ७१८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक गौरादह –७ बस्ने २६ वर्षीय पारस राजवंशी सामान्य घाइते भएका थिए भने मोटरसाइकलको पछाडी सवार दमक –७ बस्ने ३१ वर्षीय राजन लिम्बू गम्भीर घाइते भएका थिए ।
दुवैलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा राजन लिम्बूको उपचारको क्रममा रातीनै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक राजवंशीको सोही अस्पतालमा उपचार भइरहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जनाइएको छ ।