काठमाडौं, २७ चैत । हङकङमा सुरु भएको चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ ।
आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो ।
नेपालले १८ बल बाँकी रहँदै १५४ रन बनायो ।
नेपालका लागि कुशल भुर्तेलले १९ बलमा ३८, आसिफ शेखले २१ बलमा ३३, कप्तान रोहित पौडेलले २९ बलमा ३७ र बसिर अहमदले ३३ बलमा ३० रन बनाए ।
नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको हो ।
कतारका मुहम्मद इक्रामुल्लाहले अर्धशतक प्रहार गरे । उनी ५४ बलमा ५४ रन बनाउँदै आउट भए ।
बलिङमा नेपालका सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी र गुल्सन झाले एकएक विकेट लिए । नन्दनले टी-२०आईमा डेब्यु विकेट लिएका हुन् ।
चारदेशीय सिरिजमा नेपाल, हङकङसहित कतार र कुवेत समावेश छन् । सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।
नेपालले अप्रिल १० मा कुवेतसँग, अप्रिल १२ मा हङकङसँग खेल्ने तालिका रहेको छ । त्यस्तै अप्रिल १३ मा तृतीय स्थान र फाइनल हुने तालिका रहेको छ ।