काठमाडौं, १३ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्रिकेट खेलेका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने भएको छ ।
क्यानको आज बसेको केन्द्रीय कार्यसमितीको बैठकले अमेरिका र वेष्ट इन्डिजमा भएको टी–२० विश्वकप खेलेका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने निर्णय गरेको हो ।
अन्य सपोर्ट स्टाफलाई जनही १ लाख ५० हजारका दरले प्रोत्साहन भत्ता दिने निर्णय भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनभयो । ७ वटै प्रदेश क्रिकेट संघलाई २ जना महिला र ३ जना पुरुष खेलाडीहरुलाई सेप्टेम्बर १ देखि लागु हुने गरी १ वर्षसम्म जनही मासिक १५ हजार पारिश्रमिक उपलब्ध गराउने निर्णय बैठकले गरेको हो ।
संघको वार्षिक कार्यक्रमअनुसार संचालन गरिने एलिट कप क्रिकेट प्रतियोगिता अक्टोवर अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र विरगंजमा आयोजना गर्ने निर्णय भएको प्रवक्ता लामाले बताउनुभयो ।
आइसीसी यु–१९ महिला विश्वकप एशिया क्वालिफायरको तयारी स्वरुप सेप्टेम्बर १५ बाट दाङको लमहीमा प्रथम चरणको बन्द प्रशिक्षण संचालनसमेत हुने क्यानले जनाएको छ ।
त्यस्तै, क्यानले लेखबहादुर क्षेत्रीको संयोजकत्वमा युनिल श्रेष्ठ र मुर्तुजा हवारी सदस्य रहने गरी ३ सदस्यीय राष्ट्रिय छनौट समिति गठन गरेको छ ।