काठमाडौं, ३१ चैत । हङकङमा आयोजित टी २० सिरिजको फाइनलमा नेपाल चुकेको छ । बसिर अहमदको साहसिक ब्याटिङलाई पन्छाउँदै कुवेतले उपाधि जित्यो ।
१७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गर्दै ९२ रनमा आठ विकेट गुमाएको थियो । हारको संघारमा पुगिसकेको टिमलाई बसिरले १० औं नम्बरमा आएका नन्दन यादवको सहयोगमा चामत्कारिक उद्दार गर्दै जित नजिक पुर्याएका थिए । तर, अन्तिममा उनी चुके ।
नेपाललाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको थियो । पहिलो बल नै नोबल भयो र त्यसमा बसिरले छक्का हाने । एक बलमा सात रन आएपछि नेपाललाई ५ बलमा ४ रन मात्र चाहियो ।
नेपाली दर्शकले सेलिब्रेसन गर्न थालिसकेका थिए । तर, त्यसपछिका दुई बल डट खेलेर बसिर प्रेसरमा आए । तेस्रो बललाई छक्का हान्न खोज्दा उनी क्याच आउट भए र नेपालको क्याम्प स्तब्ध बन्यो ।