Logo

ट्रम्पको कार्यकाल सुरु



काठमाडौं, ८ माघ । संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा डोनाल्ड जे ट्रम्पले सोमबारदेखि औपचारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ । राजधानी वासिङ्टन डिसीमा भव्य समारोहकाबिच उहाँले पद तथा गोपनीयताको शपथग्रहण गर्दै पदभार सम्हाल्नुभएको हो ।

विश्व शक्तिराष्ट्रको शक्तिशाली राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालका लागि निर्वाचित ट्रम्पलाई अमेरिकाको सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसले अमेरिकी समय अनुसार बिहान ११ : ४७ बजे शपथग्रहण गराउनुभयो ।

शपथ लिँदै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “म दृढतापूर्वक शपथ खान्छु कि म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको कार्यलाई इमानदारपूर्वक कार्यान्वयन गर्ने छु र मेरो क्षमताले भ्याएसम्म संयुक्त राज्य अमेरिकाको संविधानको रक्षा गर्ने छु ।” राष्ट्रपति पदको शपथ अमेरिकी संविधानको धारा २, उपधारा १ मा निर्दिष्ट गरिएको छ । उहाँको आगमनसँगै राष्ट्रपति कार्यालयको वेबसाइटको नाम ‘अमेरिका इज ब्याक’ घोषणा गरिएको छ ।

राष्ट्रपति ट्रम्पले शपथलगत्तै देशवासीका नाममा सम्बोधन गर्दै अमेरिका अब स्वर्ण युगमा प्रवेश गरेको उद्घोष गर्नुभयो । आफ्नो कार्यकाल सुरुवातको सम्बोधनका क्रममा उहाँले यस दिनलाई स्वतन्त्रता दिवस भएको दाबी गर्नुभयो । उहाँले अमेरिकालाई फेरि बनाउन चुनाव प्रचारका क्रममा भगवान्ले आफ्नो जीवन बचाएको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “हालैको राष्ट्रपतीय निर्वाचनलाई हाम्रो देशको इतिहासमा सबैभन्दा ठुलो र परिणाममुखी निर्वाचनका रूपमा स्मरण गरिने छ ।” उहाँले हालसालै लस एन्जलसमा फैलिएको डढेलोमा धेरै मानिसले आफ्नो घर गुमाएकोमा दुःख प्रकट गर्नुभयो । डढेलो नियन्त्रणको प्रयासमा सरकार लागेको औँल्याउँदै उहाँले देशका धनी वर्गलाई घरबारविहीन बनाएको उल्लेख गर्नुभयो ।

उहाँले देशको शिक्षा र स्वास्थ्य सेवा प्रणालीको आलोचना गर्दै छिटो परिवर्तन ल्याउने वाचा गर्नुभयो । आफ्नो पुनरागमनले अमेरिकाको पतन समाप्त गर्दै नागरिकको स्वतन्त्रता फिर्ता गर्ने दिन ल्याएको दाबी गर्नुभयो ।

मेक्सिको सीमा क्षेत्रमा आपत्काल घोषणा

नयाँ राष्ट्रपतिका रूपमा उहाँले पहिलो दिन नै कार्यकारी राष्ट्रपतिको हैसियतमा एक सय वटा फाइलमा आदेशात्मक हस्ताक्षर गर्नुभयो । जसमा संशयका साथ हेरिएको आप्रवासन तथा देश निकालासम्बन्धी आदेश पनि सामेल रह्यो । यी विषयमा सम्भावित हुलदङ्गालाई मध्यनजर गर्दै मेक्सिकोको सीमा क्षेत्रमा राष्ट्रिय आपत्कालको घोषणा गर्नुभयो । त्यस्तै वातावरणीय, पारलैङ्गिक अधिकार तथा अपराधमा क्षमा दिने विषय पनि उहाँको आदेशमा समावेश छन् । यी आदेशहरूमा अमेरिकी कङ्ग्रेसको अनुमोदन आवश्यक पर्दैन । त्यसैले पनि अमेरिकामा आफूले लागु गर्न चाहेको नीतिगत विषयलाई उहाँले समावेश गर्नुभएको मानिन्छ । कतिपय विषयमा भने भविष्यमा थप बहस र कानुन आकर्षित गर्न सकिने सम्भावना कायम रहन्छन् ।

प्रतिक्रिया दिनुहोस्