पाँचथर, १३ असोज । तमोर नदी अन्तर्गत धनकुटाको मुलघाट पश्चिम फलामेटारमा दुई जनाको शव भेटिएको छ । दुवै शव महिलाको भएको स्थानीयले बताएका छन् । एउटा शव धनकुटा र एउटा शव तेह्रथुम जिल्लातर्फ भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारीले जानकारी दिनुभयो ।
पहिचान हुन नसकेका ती शव पाँचथरको फिदिम नगरपालिका-१ स्थित फेमेखोलाबाट बगेको हुन सक्ने प्रहरीको अनुमान छ । यद्दपि पहिचान भने भइसकेको छैन ।
धनकुटातर्फ भेटिएको शव पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पतालमा पठाइएको छ भने तेह्रथुमतर्फ भेटिएको शव भएका स्थानतर्फ बसन्तपुरबाट प्रहरी जाँदै गरेको डीएसपी भण्डारीले जानकारी दिनुभयो ।
बाढीमा परेर फिदिम नगरपालिका-१ का कृष्ण दाश, उनकी श्रीमती कमला दाश, धनकुमार तुम्वापो, राजेश तुम्वापो, उनकी श्रीमती सरस्वती तुम्बापो र फालेलुङ गाउँपालिका-५ की ३६ वर्षीया कमला राई बेपत्ता छन् ।