झापा, ३० चैत । दमकमा आज हुने जागरणसभालाई प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।
लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले आयोजना गरेको कोशी प्रदेशस्तरीय जागरणसभाको तयारी पूरा भएको छ ।
दमकको पशुहाटमा सभा आयोजना गरिएको छ । सभामा सहभागी हुनका लागि कोशी प्रदेशका गाउँगाउँबाट एमालेका कार्यकर्ताहरु दमक झरिरहेका छन् ।
एमालेले हिजो साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिएअनुसार कार्यक्रम स्थलको पूर्वतर्फबाट जाने सवारी साधनहरु रतुवा पुल वारी रोकेर नारा जुलुससहित सहभागीहरु पशुहाटस्थित कार्यक्रम स्थलमा प्रवेश गर्नेछन् ।
यसैगरी, पश्चिमतिरबाट आउने सहभागीहरु पश्चिम बसस्टेन्डमा सवारी रोकेर नारा जुलुससहित कार्यक्रम स्थल प्रवेश गर्नेछन् ।
जागरणसभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयं सेवक परिचालन गरिएको पार्टीको कोशी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिनुभयो ।