झापा, १९ भदौ । झापाको दमकमा गौहत्या भएपछि चौतर्फी बिरोध भएको छ । विभिन्न संगठन र राजनीतिक दलले गौहत्याजस्तो जघन्य अपराधिक कार्यमा संलग्न व्यक्तिको खोजी गरी सार्वजनिक गर्न र कारवाहीको दायरामा ल्याउन माग समेत गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समितिले बुधबार दमकमा पत्रकार सम्मेलन गरी यो अति निन्दनीय ,घृणित र संविधानविरोधी हर्कत गर्ने जो कोही भएपनि सरकारी तवरबाट तुरुन्त खोजी गरी त्यस्ता व्यक्ति वा समूहलाई हदैसम्मको कार्वाही गर्न र यस्तो हर्कत गर्ने जो कोहीलाई निरुत्साहित गर्न माग गरेको छ ।
नगर समितिका अध्यक्ष हेम सुवेदी र सचिव अर्जुन रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,‘ यो जघन्य आपराधिक कार्यले मुलुकमा बढ्दै गएको धार्मिक सहिष्णुतालाई खलल पुग्ने मात्र होइन गौमाताप्रति अगाध विश्वास राख्ने आम जनमानसमाथि खुल्ला चुनौती दिएको र सिंगो समाजलाई नै मुठभेडको स्थिति निम्त्याएको छ ।’विज्ञप्तिमा दोषीलाई कारवाहीको दायरामा ल्याउन जस्तोसुकै मूल्य चुकाउनु परेपनि पछि नपर्ने चेतावनी दिइएको छ ।
सो घटनाको विरोधमा राप्रपा दमकले इलाका प्रहरी कार्यालय दमकमा ज्ञापनपत्र बुझाएको राप्रपाका प्रदेश सदस्य राजु खड्काले बताउनुभयो ।
त्यस्तै नेकपा एमालेले दमकमा भएको गौहत्याको घटनाको निन्दा गर्दे त्यसमा संलग्नलाई खोजी गरि कारवाही गर्न माग गरेको छ । पार्टी दमक नगर कमिटीका अध्यक्ष रामप्रसाद पौडेल र सचिव गिरेन्द्र चम्लागाईले संयुक्त विज्ञप्ति जारी गरि गौहत्यासम्मको अपराध गर्ने कार्यमा संलग्नको खोजी गरि अविलम्ब कारवाही गर्न माग गरेका छन् ।
देशको राष्ट्रिय जनावर गाई भएको स्मरण गराउदै पार्टीले सामाजिक सद्भाव विथोल्ने किसिमका कुनै पनि गतिविधि नगर्न, नगराउन आग्रह समेत गरिएको उल्लेख छ ।
यसैगरी ब्राह्मण समाज नेपाल जिल्ला समिति झापाले पनि प्रेस विज्ञप्ति जारी गरी समाजलाई आतंकित पारी मुठभेडतर्फ लैजान उद्धत गर्ने त्यस्ता तत्वहरुलाई सुक्ष्म अध्ययन गरी हदैसम्मको कार्वाही गर्न स्थानीय प्रहरी प्रशासनसंग माग गरेको छ ।
अराजक कार्य अविलम्ब रोक्न सरकारको ध्यानाकर्षण
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको दमकमा भएको गौहत्याप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
उहाले दमकको घटनापछि सामाजिक संजालमार्फत अर्काको गोठको गाई चोरेर हत्या गर्नु निन्दनीय र चरम अराजकता हो भन्दै यस प्रकारका कार्यहरू अविलम्ब रोक्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाले यो हदको कार्य किन हुन्छ र यस्ता कार्यहरुका लागि के र कसले प्रेरणा दिन्छ ? भन्दै प्रश्न गर्नुभएको छ ।
दमक २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको गाई चोरेर हत्या गरिएको छ । विष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गाई चोरेर हत्या गरिएको हो ।
गोठबाट अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट १०० मिटरको दूरीमा गाईलाई मारिएको छ । गाईको छाला तासेर मासु लगिएको अवस्थामा गाई भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताउनुभयो ।