Logo

दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मिलाउन माग



काठमाण्डौ, २६ माघ ।  दुग्ध विकास संस्थानबाट उत्पादित दूध तथा दुग्ध पदार्थलाई सात सय ५३ वटै पालिकाका सबै वडामा बिक्री वितरणको व्यवस्था मिलाउन कर्मचारी सङ्गठनले माग गरेको छ ।

दुग्ध विकास संस्थान कर्मचारी सङ्गठन नेपालले विज्ञप्ति निकालेर अहिलेको आर्थिक मन्दीलगायतका कारणले संस्थानको बजार सङ्कुचन हुँदै गएको र दूध तथा दुग्ध पदार्थको मौज्दात बढ्दै जाँदा समस्या आएको जनाएको छ ।

देशका सात सय ५३ वटै पालिकाका छ हजार सात सय ४३ वटै वडामा दूध र दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न सकेमा धेरै सहज हुने विज्ञप्तीमा उल्लेख छ ।

‘बसालौँ दूध तथा दुग्ध पदार्थ उपभोगको संस्कृति, ग्रामीण जनजीवनको उन्नति, राष्ट्रको प्रगति’ भन्ने मूल नाराका साथ राजनीतिक दल, सामाजिक सङ्घ, संस्था, विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रममा संस्थानका दूध र दुग्धजन्य पदार्थबाट बनेका परिकारको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि सङ्गठनले माग गरेको छ ।

कार्यक्रममा खाजा तथा चिसो पेयका ठाउँमा दूध तथा दुग्धजन्य पदार्थ नै उपयोगको व्यवस्था गर्न पनि माग गरिएको सङ्गठनका अध्यक्ष सहदेव अर्यालले बताउनुभयो ।

नेपाललाई दूधमा आत्मनिर्भर बनाउन र किसानको जीवनस्तर उकास्न पनि बजारको विस्तार हुनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्