Logo

दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई काठमाडौं लगियो



झापा, २९ चैत । प्रहरीले राजा फर्काउने भन्दै चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसा मच्चाएर फरार दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं लगिएको छ । उनीहरूलाई भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमा काठमाडौं लगिएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार प्रसाईं र उनका अंगरक्षक खड्कालाई भद्रपुरबाट पक्राउ गरेर बुद्ध एयरको जहाजमार्फत् काठमाडौं लगिएको छ ।

उनीहरू दुवैलाई राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि काठमाडौं लगिएको छ ।

गत चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुनेमा आयोजना गरेको आमसभा हिंसात्मक बन्दा दुईजनाले ज्यान गुमाएका थिए ।

राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन परिचालन समितिले प्रसाईंलाई उक्त प्रदर्शनमा जनकमाण्डर बनाएर पठाएको थियो । चैत १४ गते निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेपछि प्रसाईं जोशिएका थिए ।

भीडलाई उत्तेजित बनाएर प्रसाईं प्रहरीको सुरक्षा घेरा तोडी भाग्न सफल भएका थिए । प्रसाईंको सचिवालयले उनलाई भारतको आसाम राज्यबाट बिहीबार राति पक्राउ गरिएको दाबी गरेको थियो प्रहरीले उनलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्