काठमाडौँ, २८ साउन । नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्रीले पररराष्ट्र मन्त्रालयकि सचिव सेवा लम्सालसँग भेटवार्ता गर्नुभएको छ ।
विदेशसचिव मिस्रीले सोमवार काठमाडौंको नक्शालस्थित होटल हिल्टनमा परराष्ट्र मन्त्रालयकि सचिव लम्सालसँग भेटवार्ता गर्नुभएको हो । भेटवार्ताका क्रममा दुई देशका बिचमा विगतमा भएका सहमतीहरु तथा भारतीय सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरुलाई अझ क्रियाशील बनाउने विषयमा छलफल भएको बताइएको छ ।
भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल–भारत सम्बन्धको सबै पक्षहरुको बीचमा समिक्षा गर्ने र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले भारतीय सहयोगमा सञ्चालित परियोजनाहरु र दुई देशका बीचमा भएका विभिन्न संयन्त्रहरुको बैठक सुचारु गर्ने विषयमा पनि कुराकानी भएको बताउनु भयो ।
उहाँले भारतको विदेश सचिवले नियुक्त भएपछि छिमेकी मुलुकहरुको भ्रमण गर्ने प्रचलन रहेको भन्दै अहिलेको भारतीय विदेश सचिव र नेपालकि परराष्ट्र सचिवबीचको भेटवार्ता परिचयात्मक भेटवार्ता मात्रै भएको बताउनु भयो । भेटका क्रममा कुनै सहमती वा समझदारीहरु नभएको उहाँले स्पष्ट पार्नुभयो ।